तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

काठमाडौं,
पुस २२ ।

काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म जारी दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ म तीन लाखभन्दा बढीले अवलोकन गरेका छन् । समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख घिमिरे पठन संस्कृतिको विकासमा यस्ता मेला महोत्सवले महत्त्वपूर्ण योगदान दिने बताउनुभयो ।

समापन कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले राज्यले यस्ता कार्यक्रमहरूको अपनत्व लिनु पर्नेमा व्यवसायीले अपनत्व लिएको बताउँदै व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा भएको अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ को आयोजना गरिएको हो ।

यस अवसरमा नेपालमा पहिलो पटक राइट टेबल म्याच मेकिङ कार्यक्रम भएको थियो । यस कार्यक्रम अन्तर्गत ११ वटा लेखक तथा प्रकाशकहरूबीच सम्झौता भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताउनुभयो । प्रदर्शनीमा १३ देशका एक सय पचास भन्दा बढी प्रकाशक, लेखक, निर्यात तथा विभिन्न शैक्षिक सामग्री उत्पादकहरू सहभागिता थियो ।

यसमा तपाइको मत

अन्य समाचार