‘बलिदान’को छायांकनको लागि कालीमाताको भव्य मूर्ति तयार

काठमाडौं,
पुस २२ ।

चलचित्र ‘बलिदान’को छायांकनका लागि तयार गरिएको कालीदेवीको मूर्ति सार्वजनिक भएको छ । निर्माणपक्षबाट उक्त मूर्तिका केही तस्बिर सार्वजनिक भएका हुन् । चलचित्रका निर्देशक सन्तोष सेनले नेपालभर खोजी गर्दा पनि उपयुक्त मूर्ति नभेटेपछि, निर्माण टोली भारतको कलकत्तामा गएर त्यहाँका कुशल कालिगडहरूसँग मिलेर यो मूर्ति तयार गरिएको जानकारी गराउनुभयो । ‘चलचित्रका लागि हामीलाई एउटा अद्वितीय र विशाल कालीमाताको मूर्ति चाहिएको थियो । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहनाअनुसारको मूर्ति पाएनौँ । अन्ततः, हामी भारतको कलकत्ता पुग्यौँ । त्यहाँका कुशल कालिगडहरूसँग मिलेर ४२ फिट अग्लो काली माताको मूर्ति निर्माण गर्‍यौँ,’ सेनले भन्नुभयो ।

मूर्ति निर्माणको यो यात्रा चुनौतीपूर्ण रहेता पनि मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानलाई भने यसले नयाँ पहिचान दिएको छ । चलचित्रको छायांकन नसकिँदै ‘काली चौर’का रूपमा परिचित यो स्थान चर्चित स्थल बनेको छ । यस क्षेत्रमा निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलहरूले स्थानीयलाई रोजगारीका अवसर प्रदान गर्नुका साथै एउटा मिनी बजार सञ्चालनमा ल्याएको निर्देशक सेनले जानकारी गराउनुभयो ।

चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’को छायांकन लगभग पूरा भइसकेको छ । छायांकन सकिएपछि टिजरसहित चलचित्रको रिलिज मिति औपचारिक रूपमा घोषणा गरिने छ ।

चलचित्रको एक्सन दृश्यहरूलाई थप रोमाञ्चक बनाउन दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर साम को नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ ।

‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित छ । ‘आसुसेन फिल्मस् प्राली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सहनिर्माताको भूमिकामा हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार