काठमाडौं,
पुस १३ ।
चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको यो चलचित्रको शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्दै शुभमुहूर्त गरिएको हो । अभिनेता सौगात मल्ल र अभिनेत्री गरिमा शर्माले मुहूर्त सट दिनुभएको थियो ।
यही पुस २० गतेबाट छायांकनमा जान लागेको यो चलचित्रमा सौगात र गरिमासहित आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतको पनि अभिनय रहनेछ । यसमा प्रदीप भारद्वाजको लेखन छ ।
मुइन इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको यस चलचित्रको निर्मातामा सन्तोष गौतम हुनुहुन्छ । हरि हुमागाईंको छायांकन रहने यो चलचित्र कमेडी कथावस्तुमा बन्न लागेको हो । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई टपरीमा खुवाउने मांसहारी भोजलाई जन्ते बाख्रो भन्ने चलन छ ।






