काठमाडौं,
मंसिर १९ ।
चलचित्र ‘प्रेम गीता’ को छायांकन आरम्भ गरिएको छ । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुनलागेको यो चलचित्रको सोमबारदेखि काभ्रेको पाँचखालबाट छायांकन आरम्भ गरिएको हो । राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको यो चलचित्र उहाँको डेब्यु निर्देशन हो ।
चलचित्रको छायांकन काठमाडौं र काभ्रे आसपासमा २५ दिनसम्म चल्ने निर्माणपक्षले जनाएको छ । चलचित्रमा सुशील पोखरेल, जाहृनवी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीलगायत कलाकारहरूको अभिनय रहनेछ ।
मौनता श्रेष्ठले लेखेको यो चलचित्रमा रामेश्वर हुमागाईंको छायांकन, भरत बस्नेतको संगीत, राजु किरातको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र रवि केसीको शृंगार रहेको छ । विनयराज पौडेल यस चलचित्रका मुख्य सहायक निर्देशक हुनुहुन्छ । साजिद खानले प्रस्तुत गरेको यो चलचित्रका निर्माता अयाज अलि खान हुनुहुन्छ ।






