होम कार्कीलाई अनेसास शिखर पुरस्कार

काठमाडौं,
मंसिर १२ ।

अनेसास शिखर पुरस्कार, दोहा, कतारले काठमाडौंमा एक कार्यक्रमबीच साहित्यकार एवम् पत्रकार होम कार्कीलाई ‘अनेसास शिखर पुरस्कार अर्पण गरेको छ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा मंगलबार भएको कार्यक्रममा कार्कीलाई ३३ हजार ३३३ नगद राशिसहित सम्मानपत्र, दोसल्ला, टोपी र मालासहित सम्मान गरिएको थियो ।

कार्कीको सनैया उपन्यास प्रकाशित रहेको छ भने यसअघि नवोदित अवार्डबाट पनि सम्मानित भइसक्नु भएको छ । मकवानपुरका कार्कीले कतार बस्दा पुर्‍याउनु भएको योगदानका लागि यो पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । २०७७ सालमा स्थापना गरिएको यस पुरस्कारबाट साहित्यकारहरू विनोद खड्का, बद्रीप्रसाद पराजुली र गिरिश्रीस मगर सम्मानित भइसक्नु भएको छ । शिखर वैद्य अनेसास कतारका संस्थापक संयोजक हुनुहुन्छ । बैद्यले अनेसास कतारलगायत गैरआवासीय नेपाली संघ कतार, नवोदित साहित्यिक वाचनालयको स्थापनामा योगदान पुर्‍याउनु भएको थियो ।

‘अनेसास शिखर पुरस्कार’का अध्यक्ष कवि प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा पुरस्कार समितिका सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष साहित्यकार राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै पुरस्कार, अनेसास कतार र पुरस्कृत सर्जकबारे आफ्नो स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अध्यक्ष प्रेमप्रसाद भट्टराई, अनेसास केन्द्रीय पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला, अनेसास केन्द्रीय निवर्तमान उपाध्यक्ष साहित्यकार रेनुका सोलु र सर्जक रमेशानन्द वैद्यलगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार