आप्रवासी नेपाली गीतकार संघको साधारणसभा हुँदै

ओहायो,
मंसिर ८ ।

आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारणसभा आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ । अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरी गीत रचनामा निरन्तर लागिरहेका गीतकारहरूको सामुहिक संस्था ‘आप्रवासी नेपाली गीतकार संघ, अमेरिका’ले आफ्नो प्रथम बार्षिक साधारणसभा फेब्रुअरी २, २०२५ का दिन अमेरिकाको ओहायो राज्यमा गर्ने भएको छ ।

उक्त दिन ज्ञान र विद्याकी देबी सरस्वतीको उपासना गर्ने दिन सरस्वती पूजा परेकोले हरेक बर्ष संघको बार्षिक अधिवेशन सरस्वती पूजाकै दिन सम्पन्न गर्ने निर्णय गरेको समेत संघले जनाएको छ । नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका सम्भव भएसम्म सबै सर्जकहरूको उपस्थितिको अपेक्षा गरिएको उक्त समारोहमा विभिन्न साहित्य सम्बन्धि महत्वपूर्ण चर्चापरिचर्चासहित सांस्कृतिक एवम् साहित्यिक कार्यक्रमहरू संचालन गरिनुका साथै केही नयाँ कृतिहरूको लोकार्पण पनि गरिने कुराको जानकारी संघका अध्यक्ष हरि उप्रेतीले गराउनुभयो ।

संघको यो प्रथम कार्यक्रम भएकोले यसलाई सकेसम्म भव्य र सभ्य बनाउन उत्तर अमेरिकामा रहेका सबै गीतकार, साहित्यकार एवम् सङ्गीत कलाकर्मी सर्जकहरूबाट ठूलो सङ्ख्यामा सहभागिता गराउने प्रयासमा संघ प्रयत्नशील गहेको संघका संरक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले जानकारी गराउनुभयो ।

समारोह ओहायो राज्यको रेनल्डसबर्ग शहरमा हुनेभएको छ । उक्त सभाबाट आफ्नो भावि योजना एवम् कार्यदिसा तय गर्ने जानकारीसमेत संघले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार