काठमाडौं,
कात्तिक २३ ।
चलचित्र ‘अञ्जिला’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ पोस्टर सार्वजनिक गरिएको हो ।
यस चलचित्रको वर्ल्ड प्रीमियर मंसिर २३ गते (डिसेम्बर ८) हङकङमा हुने तय गरिएको छ । उक्त प्रीमियर शोमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनुहुने छ ।
हङकङ प्रीमियरपछि नेपाल रिलिजअघि नै यो चलचित्रको प्रदर्शनी युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा हुने निर्माता प्रेम कुमार श्रेष्ठले जानकारी गराउनुभयो । नेपालमा भने यो चलचित्रको रिलिज मिति फागुन २९ गते तोकिएको छ ।
यस चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा देखिनुभएको छ भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगातका कलाकारको अभिनय छ । निर्माता प्रेमकुमारले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्नुभएको छ ।
चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतवारे, झापा, र काठमाडौंमा गरिएको छ । निर्देशक चाम्सले यो चलचित्रले फरक प्रकारको प्रभाव छोड्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार चलचित्रले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको छ ।
चलचित्रको छायांकन सुदीप बरालले गर्नुभएको छ भने सम्पादन मिलन श्रेष्ठले गर्नुभएको छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुनुहुन्छ भने विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गर्नुभएको छ ।






