काठमाडौं,
कात्तिक १४ ।
सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ भने भोलि पल्ट केटाहरू देउसी खेलेर सांस्कृतिक पर्वलाई उत्साहजनक रुपले मनाउने परम्परालाई निरन्तरता दिने क्रममा यस वर्ष पनि कलाकारहरुले देउसी र भैलो गीत सार्वजनिक गरिरहेका छन् ।
यसै सिलसिलमा पछिल्लो समय मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त रहदै आउनुभएका गायक नारायण थापासँगै सब्बु केसी र रबि सुवेदीको स्वरमा ‘तिहारै राम्रो…’ गीतको भिडियो सार्वजनिक भएको छ ।
सुरेन उप्रेतीको शब्द, बिकाश चौधरीको संगीत, ललित सिहं साउदको सम्पादन रहेको भिडियोलाई विमलकुमार ढकालले निर्देशन गर्नुभएको हो । गायक नारायण थापा यतिबेला चन्द्रगिरी औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ मा आफ्नो संगीतिक प्रस्तुति दिन व्यस्त छन् । महोत्सव यही कात्तिक १७ गतेसम्म सञ्चालन हुनेछ ।






