काठमाडौं,
कात्तिक ७ ।
चलचित्र ‘रंगी’को छायांकन सुरु गरिएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुनलागेको यो चलचित्रको मंगलबारबाट छायांकन आरम्भ गरिएको हो । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेश न्यौपानेको निर्देशन छ । यो उहाँको ‘डेब्यु’ निर्देशन हो । चलचित्रमा सलोनसँगै नम्रता श्रेष्ठ, दीलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ ।
निर्माण पक्षले चलचित्रको टाइटल पोष्टर यसअघि सार्वजनिक गरेको थियो । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरू बाबुछोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । चलचित्रले बाबुछोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।
सक्षम सुवेदीको निर्माण रहने यो चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन रहने जनाइएको छ ।






