काठमाडौं,
असोज ३० ।
कलाकारहरूले वरिष्ठ निर्देशक यादव खरेलको हातबाट टीका ग्रहण गरेका छन् । बडादशैँको अवसर पारेर काठमाडौंमा मंगलबार आयोजित एउटा विशेष समारोहमा कलाकारहरूले वरिष्ठ निर्देशक खरेलको हातबाट टीका ग्रहण गरेका हुन् । नेपाल चलचित्र निर्देशक समाजको आयोजनामा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका पहिलो अध्यक्ष यादव खरेलदेखि वर्तमान अध्यक्ष दिनेश डिसीसम्मको उपस्थिति थियो ।
असहज स्वास्थ्य अवस्थाका बाबजूद निर्देशक समाजको अनुरोधमा चलचित्रकर्मीलाई दशैँको टीका–जमरासहित आशीर्वाद दिन समारोह उपस्थित भएका वरिष्ठ निर्देशक खरेलले आफ्नो सम्बोधनको क्रममा बताउनुभएको थियो ।
समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अध्यक्षको रुपमा कार्यभार सम्हालेको छोटो अवधिमै नेपाली चलचित्र क्षेत्रका लागि विभिन्न सकारात्मक सुधारहरू ल्याउने कार्यको थालनी गरिसकेको जानकारी गराउनुभयो ।
नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काको संयोजनमा आयोजना गरिएको समारोहमा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुली, महासचिव अरुणकुमार प्रधान तथा सचिव देवेन्द्र पाण्डेको सक्रिय सहभागिता थियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको समेत सहभागिता रहेको कार्यक्रममा विशिष्ट फिल्मकर्मीहरुको सहभागिता थियो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, निर्देशक राजेन्द्र सलभ, अभिनेता कृष्ण मल्ल, सरोज खनाल, द्वन्द निर्देशक राजेन्द्र खड्गी, निर्माता तथा वितरक गोपालकाजी कायस्थ, निर्देशक सुचित्रा श्रेष्ठ, रक्षा सिंह राणा, अभिनेता धिरेन शाक्य, श्रीदेव भट्टराई, कलाकार आरपी पन्त, निर्देशक सूर्य बोहोरा, सुवास गजुरेल, कलाकार उत्तम केसी, सुनिल कटवाल, नारायण प्रधान, शिवहरी बैरागी, गोपाल ढकाल छन्दे, अभिनेता पूरन जोशी, निर्देशक रामशरण कोइराला, निर्देशक माधव खरेल, अभिनेत्री नेन्सी खड्का, गायक सुमित खड्कालगायत दर्जनौं कलाकार, प्राविधिक, निर्देशक तथा चलचित्र कलाकार संघका अधिकांश कार्यसमिति सदस्यको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थित सबै कलाकार तथा प्राविधिकहरुले लामबद्ध भएर निर्देशक यादव खरेलको हातबाट टीका, कलाकार रविन्द्र खड्काको हातबाट जमरा तथा निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीको हातबाट दक्षिणा ग्रहण गरेका थिए । दक्षिणा ग्रहण गर्ने अधिकांश कलाकारहरुले उक्त दक्षिणामा आफ्नो रुचि अनुसार केही रकम थप गरेर आयोजक संस्थालाई नै हस्तान्तरण गरेका थिए ।






