नेपालीहरूको महान् चाड वडदशैँ सुरु, आज घटस्थापना घरघरमा जमरा राखिदै

काठमाडौं,
असोज १७ ।

आजदेखि २०८१ सालको बडा दशैँ सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ । घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँघर वा पूजा कोठामा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी नौ दिनसम्म देवी दुर्गालाई विभिन्न नामले पुकारेर पूजा आरधना गरिन्छ ।

घटस्थापनाका दिन जमारा राखिंने भएकाले यो दिनलाई कतिपयले जमारे औंशी पनि भन्ने गरेका छन् । आजैका दिनबाट नवरात्रि प्रारम्भ भएको छ । आजदेखि विजया दशमीको अघिल्लो दिनसम्मलाई नवरात्री भन्ने गरिन्छ ।

घटस्थापनाको शुभ साहित आज बिहान ९ बजेर १६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले जनाएको छ । सोही समयमा घरघरमा घटस्थापनासहित जमरा राखिंदै छ । काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा पनि वैदिक विधिपूर्वक शुभ साइतमा जमरा राखि महाकाली महालक्ष्मी, महा सरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ गर्ने गरिन्छ ।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक मकै, गहुँ र जौ रोपिन्छ र सर्वऔषधी, पञ्चरत्न र सप्तमृतिका लगायत विभिन्न साम्रगी राखेर नौ दिनसम्म पूजा गरिन्छ । यसरी नौ दिनसम्म पूजा गरेको जमरा विजया दशमी अर्थात टीकाको दिन लगाउने गरिन्छ ।

घटस्थापनाका दिन विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूप दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

नौ दिनसम्म भगवती दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा आराधना हुन्छ । गाउँ घरतिर जमरा राख्नु अगाडि नै आफ्नो घरलाई रातो माटो र कमेरोले लिपपोत गरेर सिंगार्ने चलन छ भने शहरमा आधुनिक रङको प्रयोग गरेर घर सिंगारिने गरिन्छ ।

घटस्थापनाको दिनदेखि दुर्गा सप्तशती चण्डी पाठ पनि गरिन्छ । आज राखिएको जमरा देवीको प्रसादका रूपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । दशैंको पूर्णिमासम्म जमरा लगाइने गरिन्छ । पूर्णिमाको दिन बेलुका जमरालाई खोला वा तलाउमा गलेर विर्सजन गरिएपछि दशैं समाप्त गरिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार