काठमाडौं,
असोज १५ ।
मह जोडिका म अर्थात कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा सजिएको एउटा नयाँ गाीत सार्वजनिक भएको छ । समाजशास्त्री डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ द्वारा रचना गरिएको ‘कसले देला बलिदान’ बोल गीतमा गायक श्रेष्ठलाई गायिका प्रेक्षा गौतमले गायनमा साथ दिएकी छिन् ।
कीर्ति न्यौपाने यो गीतका संगीतकार हुन् भने पुरुषोत्तम सुवेदीले यो गीतमा संगीत संयोजन गरेका छन् । किशोर थापाले गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । कृष्णदेव रुपाखेतीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठले अभिनय गरेका छन् । अभिनयमा उनलाई राहुल श्रेष्ठ, महेन्द्र मैनाली, आर्यन राउत आदि कलाकारले साथ दिएका छन् ।
मुकेश हुमागाईँ तथा समुहद्वारा छायांकन गरिएको यो भिडियोमा राहुल बराइलीको कोरियोग्राफी छ । मिन रावल यो गीतको भिडियोका सम्पादक हुन् । कलर करेक्सन पनि रावलले नै गरेका छन् ।
गीत तथा भिडियोमार्फत आजको देशको यथार्थ परिस्थितिलाई चित्रण गर्दै समग्र देशका युवाहरू विदेशिन बाध्य भएको, किसानलाई परेको पीडा, युवाहरुमा व्याप्त बेरोजगारीको समस्या, देश समृद्धितिर नगएको नैराश्यता आदि विषयलाई चित्रण गरिएको छ ।
भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठले एउटा गाउँका मुख्य बाको भूमिकामा प्रस्तुत भएका छन् । गाउँमा बेरोजगारी केटाहरू सहरमा जे देख्छन् त्यो कुराको वृतान्त सबै एउटा चौतारोमा गाउँलेहरुको भेला भइरहेको अवस्थामा सुनाएको दृश्य तथा केही युवाहरू विदेश गएको दृश्य पनि देख्न सकिन्छ ।
यो गीतको मुख्य देशमा रोजगारीको सिर्जना भएन, देशमा युवाहरुलाई भविष्य देख्ने कुनै कार्य भएन, काम भएन, उद्योग-धन्दाहरु बन्द भए, अब रोजगारीका लागि के गर्ने रु हामी कसरी यो देशमा बस्ने रु गाउँहरू पूरा रित्तो भइसके जस्ता विषयलाई प्रस्तुत गरिएको छ । यो भिडियो शशीकुञ्ज युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
यो गीतका गीतकार डा। शम्भु जमरकट्टेल हेदाङ्ने समाजशास्त्री हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा २७ वर्ष प्राध्यापन गरि रिटायर्ड भएर सामाजिक विकास विज्ञको रुपमा विभिन्न गैरसरकारी परियनेजनामा काम गर्दै आएका छन् ।
उनी सामाजिक विसंगति विरुद्ध कवितामार्फत दरो प्रहार गर्ने कवि र वर्तमान सामाज, सामाजिक ईतिहास, राष्ट्र प्रेमका विषयमा गीत पस्किएर समाजलाई मन्त्रमुग्ध बनाउन खप्पिस छन् ।






