‘‘ज्वाइँसाब’मा फरक कथा दर्शकले हेर्न पाउने’

काठमाडौं,
असोज ३ ।

दशैँको फूलपातीको दिन अर्थात यही असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्वाइँ साब’ का प्रमुख कलाकार जितु नेपाल तथा नीति शाह अहिले चलचित्रवृत्त र दर्शकका लागि ‘हट केक’ बन्नुभएको छ ।

चलचित्रमा अनुवन्धित भएसँगै चर्चामा रहनुभएका जितु र नीति चलचित्रको प्रचार सामग्रीहरु पोस्टर, टीजर तथा गीत (कसम बत्तीको) सार्वजनिक भएपछि अहिले सबैको नजर उहाँहरूतिरै सोझिएको छ ।

चलचित्रमा जितु र नीति अनुवन्धित भएपछि उहाँहरूको जोडी कस्तो बन्ला भन्ने चलचित्रवृत्तसँगै दर्शकमा बढेको जिज्ञासाको समाधान भइसकेको छ । चलचित्रको पोस्टर, टिजर र कसम बत्तीको गीत सार्वजनिक भएपछि चलचित्रप्रति फिल्मकर्मी र दर्शकको कौतुहलतालाई एक हदसम्म मेटाइसकेको छ ।

अभिनयमा झण्डै तीन दशक बिताइसक्नुभएका जितु र चलचित्रवृत्तमा नयाँ अनुहारका रुपमा उदाउनुभएकी नीतिको केमेष्ट्रीलाई गीत ‘कसम बत्ती’ सार्वजनिक भएपछि यो जोडीलाई सबैले स्वीकारिसकेका छन् । सामाजिक सञ्जाल टिकटकमा यो गीतको चर्चा अहिले अत्यधिक छ । प्रेमभाव दर्शाउने यो गीतमा अहिले जुनसुकै उमेर समूहका मानिसले टिकटक बनाइरहेका छन् ।

चलचित्र निर्माण टिमले प्रचार-प्रसार सामाग्रीमा जितु र नीतिलाई बेहुला-बेहुलीको गेटअपमा प्रस्तुत गर्दा पोस्टरले राम्रै चर्चा पाएको थियो । पोस्टरमा जितुलाई डोलीमा राखेर कलाकारद्वय हिमेश पन्त र बुद्धि तामाङले बोकेको र जितुको अगाडि नीति बेहुली रुपमा उभिनुभएको छ । यो पोस्टरले पनि चलचित्रको कथावस्तु कस्तो होला भन्ने चासो र कौतुहलता चलचित्रकर्मीसँगै दर्शकमा व्याप्त छ ।

सामान्यतयाः विवाहमा बेहुलीलाई डोलीमा चढाईन्छ, तर यो चलचित्रको पोस्टर, टीजर र गीतमा भने बेहुलालाई डोलीमा चढाईएको छ ।

चलचित्रका निर्देशक वसन्त निरौला नेपाली चलचित्रमा देखिइरहने कथाभन्दा ‘ज्वाइँसाब’ मा फरक कथा दर्शकले हेर्न पाउने बताउनुहुन्छ । ‘पोस्टर, टीजर र गीत रिलिजपछि चलचित्रले राम्रो हाइप पाएको छ । प्रमुख कलाकार जितु नेपाल र नीति शाहको गेटअपले पनि चलचित्रप्रति चासो बढाइदिएको छ’, निर्देशक निरौला भन्नुहुन्छ, ‘दुवै कलाकारले फिल्ममा चरित्र अनुसार न्याय दिनुभएको छ ।’

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नवीन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको यो चलचित्रमा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको चलचित्रमा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।

रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा यो चलचित्र निर्माण भएको हो । चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरनेमेन्ट, एफडी कम्पनीले गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार