यस्तो छ आजको मौसम

काठमाडौं,
असोज १ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै वर्षाको सम्भावना छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेकोले त्यस क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार