अर्जुन राई
गान्तोक, २७ भदौ ।
१५९औँ मोती जयन्तीको अवसर पारेर गान्तोकमा सिक्किम गजल मञ्च (सिगम) को छैटौँ स्थापना दिवस पालन गरिएको छ । सन् २०१९मा मोती जयन्ती कै अवसर पारेर स्थापित सिगमले प्रत्येक वर्ष मोती जयन्ती अथवा यसको अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आइरहेको छ । सिगमको छैटौँ स्थापना दिवसको अवसमा गजलकार जीविका अश्रु र साहित्यकार अर्जुन चामलिङ ‘यावा’को संयुक्त सम्पादन एवम् व्यवस्थापनमा तयार गरिएको ‘सिक्किमेली नेपाली गजल’ लोकार्पण गरिएको थियो । सिक्किमबाट सम्भवतः पहिलोपटक प्रकाशित सामूहिक गजलसङ्ग्रह ‘सिक्किमेली नेपाली गजल’ वरिष्ठ साहित्यकार चुनिलाल घिमिरेले प्रकाशित गर्नुभएको हो ।
अवकाश प्राप्त शिक्षिका एवम् साहित्यकार मुना बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् पत्रकार अर्जुन पीयूष मुख्य अतिथि रहनुभएको थियो भने नेपाली साहित्य परिषदका संस्थापक अध्यक्ष राज के. श्रेष्ठ, वरिष्ठ साहित्यकार विजयकुमार सुब्बा र सिर्जनात्मक वैचारिक मञ्च, रुम्तेकका अध्यक्ष शिवप्रसाद न्यौपाने विशिष्ठ अतिथि रहनुभएको थियो ।
लोकार्पित पुस्तककी सम्पादक एवम् सिगमकी संस्थापक अध्यक्ष जीविका अश्रुको स्वागत सम्बोधनबाट गर्नुभउको थियो । कार्यक्रममा विष्णु केसी, पवन बाहुन, सागर निरौला, आनन्द छेत्री, मोहन गौतम, प्रेम न्यौपाने ‘प्रहर’, जीग्मी डी. भोटिया, भोला विद्रोही, शिवप्रसादन न्यौपाने, ललित लोहार, किरण मुखिया, जीविका अश्रु र राधा पाण्डेले गजल वाचन गर्नुभएको थियो भने कुबिर विष्ट र इन्द्रकला शर्माले कविता वाचन गर्नुभएको थियो ।
सभाध्यक्ष मुना बरालले आफ्नो सम्बोधनमा गजल कविताकै एक उपविधा रहेको बताउँदै यो अरबबाट शुरु भएको बताउनुभयो । अबरमा इस्लाम धर्म शुरु हुनुअघि नै गजलको शुरुवात भएको उहाँको भनाइ थियो । सिक्किम गजल मञ्चको यो कार्यक्रमबारे बोल्दै ‘यो कार्यक्रम एकदमै सङ्लो छ । भविष्यमा पनि यसप्रकारका कार्यक्रमहरूको आयोजना हुनेछ भन्ने आशा गरेका छौँ’, उहाँले भन्नुभयो ।
यस्तै, मुख्य अतिथि अर्जुन पीयूषले कुनै पनि कार्यक्रम सफल–असफल भएको मान्नलाई त्यहाँ रहेको उपस्थितिलाई मापदण्ड मान्न नसकिने विचार व्यक्त गर्नुभएको थियो । ‘ठूलठूला भीड़हरूले मात्रै कार्यक्रम सफल हुन्छ भन्ने होइन, कम सङ्ख्या भए पनि कार्यक्रम सफल हुनसक्छ’ भन्दै उहाँले भन्नुभयो, ‘सिक्किम गजल मञ्चद्वारा आयोजित यो कार्यक्रममा कम उपस्थिति रहेपनि बौद्धिक जमातको उपस्थिति रहेको हुनाले यसलाई सफल मान्नुपर्छ ।’ उहाँले सिक्किम गजल मञ्चको स्थापनाकालमा गजल आफ्नो विधा नभए पनि आफूले सकेको सहयोग पुर्याएको सम्झना पनि गर्नुभएको थियो ।
त्यस्तै विशिष्ठ अतिथि विजयकुमार सुब्बाले आफ्नो सम्बोधनमा लेखक-साहित्यकारहरू कतिले लेख्दैछन् भन्ने होइन के लेख्दैछन् भन्ने कुरा महत्वपूर्ण हुने धारणा राख्नुभयो । हामीले लेख्दा समाजलाई उचाल्नसक्ने कुरा दिनसक्नुपर्ने पनि सुब्बाको जिकिर थियो । ‘सिक्किमेली नेपाली गजल हिजको शृङ्गारिक गजलहरू अब सिक्किममा मेटिएर समयसापेक्ष, यहाँको परिस्थिति, परिवेश र आवश्यक्ताअनुसारका गजलहरू लेखिन थालिएछ, साह्रै खुशी लाग्यो’, उहाले भन्नुभयो । उहाँले ‘सिक्किमेली नेपाली गजल’ सिक्किमको गजल साहित्यमा एउटा माइलखुट्टी बनेको बताउनुभयो ।
गजलकार राधा पाण्डेद्वारा सञ्चालित कार्यक्रममा सभाध्यक्ष, मुख्य अतिथि एवम् विशिष्ठ अतितिगणको संयुक्त बाहुलीद्वारा ‘सिक्किमेली नेपाली गजल’ लोकार्पण गरिएको थियो । लोकार्पित पुस्तकमाथि सम्पादकको पक्षबाट बोल्दै अर्जुन चामलिङ ‘यावा’ले सिक्किमभरि ३९ जना जगलकारहरू रहेका थाहा लागेपनि केवल ३१ जनाका दुई-दुईवटा गजल समेट्न सकिएको सुनाउनुभयो । उहाँले सिक्किमबाट अहिलेसम्म प्राप्त छ जना गजलकारबाट ११ वटा मात्रै कृति प्रकाशित रहेको बताउँदै यस क्षेत्रमा अझ धेरै काम हुन बाँकी नै रहेको बताउनुभयो ।






