काठमाडौं,
साउन ३२ ।
भदौ ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सतीदेवी’को गीत ‘माया बसेको रैछ’ सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक लक्ष्मण सुवेदीको शब्द, दीपक शर्माको संगीत रहेको गीतमा प्रताप दास र दीपा लामाको स्वर छ । गीतको भिडियोमा चलचित्रकी मुख्यपात्र मलिका महत र सन्दीप बाबु लोहनीलाई फिचरिङ गरिएको छ ।
मलिकालाई कालोमोसो र जुत्ताको माला लगाएर प्रस्तुत गरिएको फष्र्टलुक पोष्टर सार्वजनिक भएपछि चर्चामा रहेको यो चलचित्रको अघिल्लो साता सार्वजनिक ट्रेलरले हाइप बढाएको छ । अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई गम्भीर प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषय चलचित्रले उठाएको छ । चलचित्रका लेखक निर्देशक सुवेदी नै हुनुहुन्छ ।
चलचित्रमा मलिका र सन्दीपसँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटीलगायतको अभिनय छ । बाबु श्रेष्ठको छायांकन तथा तारा थापा (किम्भे)को सम्पादन रहेको चलचित्रले केही फेष्टिभलमा अवार्ड जितिसकेको छ ।






