काठमाडौं,
साउन १४ ।
असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक चलचित्रको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई ‘एंग्री योङ्गम्यान’को रुपमा प्रस्तुत गरिएको छ ।
चन्द्र पन्तको डेव्यु निर्देशकिय चलचित्रको सार्वजनिक पोस्टरमा हरिहरका अलवा कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । केही दिनमा चलचित्रको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । चलचित्रको पोस्टरले दर्शकलाई उत्साहीत बनाउने विश्वास निर्देशक पन्तको छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुनुहुन्छ । चलचित्रमा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रमा बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालको छायांकन छ । नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा यो चलचित्र रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको चलचित्र मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।






