काठमाडौं,
साउन ७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिन लाग्नुभएको हो ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ । नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ । प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ । समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन् ।
संसदमा प्रधानमन्त्रीको यो पहिलो प्रश्नोत्तर हो । गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले हिजो आइतबार संसदमा विश्वासको मत लिनुभएको थियो ।
आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने समेत सम्भावित कार्यसूची छ ।






