‘मोदीबेनी’को गीत ‘मन्जुरी’लाई न्याय गर्ने कोशिस गरेको छु : किरण थापा

काठमाडौं,
असार ३१ ।

साउन १८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’को रोमान्टिक गीत ‘मन्जुरी’ यति बेला चर्चामा छ । फेसबुक, इन्स्टाग्राम, र युट्युबमा यो गीतको क्लिपबाट बनाइएका थुप्रै सामग्रीहरू भाइरल भएका छन् । गीतको शब्द, सङ्गीत, र अभिनयको संगमले दर्शकको मन जितिरहेको छ भने यसको कोरियोग्राफीको जादु पनि कम छैन । यो सबैको पृष्ठभूमिमा हुनुहुन्छ कोरियोग्राफर किरण थापा, जसले यो गीतलाई विशेष बनाउनुभयो ।

किरणलाई सुरुमा नै यस गीतका शब्दले अत्यन्तै प्रभावित बनाएको थियो । ‘मन्जुरी गीतको शब्दले मलाई एकदम आकर्षित गरेको थियो । गीतको ‘फिरफिर’ रिबन भाग अत्यन्त मन परेको थियो’, उहाँले भन्नुभयो । गीतको हर शब्दले एउटा कथा बुनिरहेको थियो, जसलाई दृश्य भाषामा उतार्न पाउँदा किरण निकै उत्साहित थिए । ‘मैले यो गीतलाई न्याय गर्न सक्छु भनेर कोरियोग्राफीको लागि मन्जुर भएको थिएँ’, उहाँ थप्नुहुन्छ ।

गीत सुन्नासाथ यो गीतले विभिन्न रङ्गहरूको माग गरिरहेको महसुस किरणलाई थियो । ‘यो गीतले विभिन्न किसिमको ‘कलर’हरू मागिरहेको थियो। यो चलचित्रको जुन ‘सेट अप’ छ, जुन ठाउँको कथा छ, त्यसलाई नै मिलाएर मैले दृश्य भाषा निर्माण गर्न खोजेको छु’, किरण भन्नुहुन्छ, ‘भिडियोको ‘हुकस्टेप’लाई सामान्य रूपमा नृत्य गर्दा आफ्नो भावलाई व्यक्त गर्न सक्ने गरी बनाएको छु । यसमा प्रयोग भएका विभिन्न ‘प्रप्स’हरू र प्राकृतिक सौन्दर्यले दुई कलाकारको केमेस्ट्रीलाई वर्णन गर्छन्।’

किरणले वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठसँगको कामलाई स्मरण गर्दै उहाँहरूको व्यावसायिकताको प्रशंसा गर्नुभयो । ‘दुवै जना प्रोफेसनल नै हुनुहुन्छ तर कहिले काहीँ सिक्ने सिलसिलामा सधैँ नयाँ सिक्नुपर्ने हुन्छ’, उहाँ भन्नुहुन्छ । ‘मैले नयाँ र पुरानो कलाकार भनेर सिकाउने प्रक्रियालाई अलग-अलग बनाउँदिन। उहाँहरू दुवै जना मैले सिकाएको सबै कुरा सिक्न खुला हुनुहुन्थ्यो’, किरणले थप्नुभयो ।

गीतको छायाङ्कनको क्रममा अनेकौँ प्राविधिक चुनौतीहरू पनि आएका थिए । ‘सुरुमा हामीले एउटा पुलमा छायाङ्कन गर्ने सोच बनाएका थियौँ । त्यही समयमा अविरल वर्षा भयो । पुल पानीले डुबायो, छायाङ्कन गर्न सकिएन’, किरण सम्झनुहुन्छ । पहाडको टुप्पोमा छायाङ्कन गर्नुपर्ने थियो, जहाँ प्राविधिक सामग्रीहरू पुर्‍याउनु आफैंमा चुनौती थियो । ‘पानी पर्ने कारण आधा दिन समय जान्थ्यो । तर, प्राविधिक टिम र कलाकारहरूको साथले सबै समस्यालाई पन्छाएर काम सम्पन्न भयो’, किरण भन्नुहुन्छ ।

‘मोदीबेनी’का निर्देशक शंकर कोइराला हुनुहुन्छ । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रमा अमर र वर्षाको साथमा प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्दविक्रम क्षेत्रीले लेख्नुभएको हो । यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सहनिर्माता हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार