काठमाडौं,
असार ३० ।
गीतकार डा.शिव सुवेदीको नयाँ गीत ‘म त तिम्रो हैन’ सार्वजनिक भएको छ । काठमाडौंमा एक समारोहबीच गीतकार संघ नेपालको आयोजनामा पूर्व कानुन तथा संघीय मामिला मन्त्री पदमकुमार गिरी र लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले संयुक्त रूपमा सार्वजनिक गीत सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गीतमा कुलेन्द्र विक र शान्तिश्री परियारको स्वर रहेको छ । मौसम हिमालीले निर्देशन गरेको गीतको भिडियोमा सनम कठायत, लोमस शर्मा र लालना चिमोरियाले अभिनय छ ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री गिरीले गीतकार सुवेदीको गीत–संगीतमा रहेको लामो सक्रियताको स्मरण गर्नुभयो । ‘उहाँको पुरानो गीत घाम जस्तो चम्किलो जून हुँदैन मुखमुखमा झुन्डिएको थियो’ उहाँले भन्नुभयो ।
यो गीत उहाँले १७ वर्ष पहिला स्ववियु सभापति हुँदा सार्वजनिक गरेको गिरीले स्मरण गर्नुभयो । गिरीले सुवेदी अत्यन्त प्रतिभाशाली सर्जक रहेको जिकिर गर्नुभयो ।
प्रतिष्ठानकी अध्यक्ष थापा मगरले डा. सुवेदीका गीतले लोक तथा दोहोरी गीतको गरिमा कायम राखेको बताउनुभयो । थापाले युट्युबमा भ्यूज बढाउन मौलिकता हराइरहेको बेला यस्तो गीत आउनु सुन्दर पक्ष रहेको सुनाउनुभयो ।
‘कसैले गरिदेला भनेर बस्ने होइन, आफ्नो तर्फबाट एक्सनमा उत्रिने हो, संस्थागत रूपमा हामी लागिरहेका छौं,’ उहाँले भन्नुभयो । स्वीजरल्याण्डबाट भूकम्प विषयमा विद्यावरिधि गर्नुभएका गीतकार सुवेदीले गीतसंगीतको क्षेत्र बिर्सिने चिन्ता लागिरहेको बेला नयाँ लोकगीत आउँदा खुशी लागेको उहाँको भनाइ थियो ।
गीतकार आनन्द अधिकारीले गीतमाथि समीक्षा गर्दै यो गीतमा गहिरो साहित्य, बिम्ब र स्पष्ट दर्शन भेटेको बताउनुभयो । ‘लोक संगीत मुटु हो, शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ’ उहाँले भन्नुभयो ।
अर्का समीक्षक बैकुण्ठ महतले गीतकार डा. सुवेदी गण्डक क्षेत्रको मौलिक शैलीलाई कायम राख्न सफल भएको जिकिर गर्नुभयो । ‘उहाँको गीत मौलिक र श्रवणीय बनेको छ’ उहाँले भन्नुभयो ।
त्यसैगरी राजकुमार बगरले डा. सुवेदीका गीतमा सधैं फरकपन भेटिने उल्लेख गर्नुभयो । ‘लोकसंगीतमा उहाँको छुट्टै पहिचान छ । यो त्यसैको निरन्तरता हो तर यसपल्ट संगीतमा केही फरक आभाष गरेको छु,’ उहाँले भन्नुभयो ।
मोडल कठायतले डा सुवेदीसँग पढाइ र संगीत दुवैमा आफूले सहकार्य गरेको स्मरण गर्नुभयो । गीतको भिडियो
सुवेदीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।






