चलचित्र ‘ईश्वर’लाई लिएर निकै उत्साहित छु : ध्रुव थापा

काठमाडौं,
असार २६ ।

नायक तथा निर्माता ध्रुव थापा चलचित्र ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैहुनुहुन्छ । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गर्नुभएका ध्रुव चलचित्र ‘ईश्वर’बाट आशावादी हुनुहुन्छ ।
चलचित्र ‘ईश्वर’मा ध्रुवले निर्माता र नायक दुवै जिम्मेवारी वहन गर्नुभएको छ । ‘फिल्ममा निडर, निष्टावान, न्यायको पक्षमा लड्ने, परिवारलाई माया, मद्दत गर्ने सकारात्मक चरित्रमा छु । मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ’, हाल अमेरिकामा रहुनभएका ध्रुवले भन्नुभयो ।

चलचित्रमा सुनील थापा, सबिन बास्तोलालगायतका दिग्गज कलाकारको अभिनय छ । दिग्गज कलाकारसँग काम गर्न पाउँदा ध्रुव खुशी हुनुहुन्छ । ‘कामको संख्याका आधारमा मसँग काम गर्ने कलाकारहरू सिनियर हुनुहोला । तर, समय र अनुभवले म आफूलाई जुनियर मान्दिनँ । किनकी एउटा सक्षम कलाकारको कर्तव्य र सीमा के हो मैले राम्रोसँग बुभेको छु’, उहाँ भन्नुहुन्छ, ‘फिल्ममा स्थापित कलाकारहरूसँग काम गर्न निकै सजिलो भयो । म आफूलाई नयाँ कलाकार जस्तो लाग्दै लागेन । केही समय ग्यापिङ भए पनि म आफूलाई निरन्तरता दिएको कारणले गर्दा म आफूलाई पुरानै कलाकार भन्न रुचाउँछु ।’

ध्रुवले २०४८ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आफ्नै लेखन र प्रस्तुतिमा गीति कथा र रेडियो नाटकबाट कला यात्रा सुरु गर्नुभएको थियो । ‘मैले विभिन्न स्टेज नाटक, रेडियो नाटक, भिडियो फिल्म, टेलिफिल्म हुँदै केही फिचर फिल्ममा अभिनय पनि गरें । म कला क्षेत्रमा स्थापित हुन नसकेको मात्र हो । पारिवारिक व्यस्तता, लगानीको प्रमुख पाटो र नातावाद, कृपावाद आदिले गर्दा म केही समय हराए । अहिले सबै कुराको एडजस्ट भएको छ । त्यसैले नेपाली फिल्ममा पुनः फर्किएको भन्न रुचाउँछु ।’ ध्रुवले ‘हिजो आजका कुरा’, ‘तितो सत्य’, ‘मेरी बास्सै’ ‘थोरै भए पुगिसरी’, ‘जिरे खुर्सानी’लगायत दर्जनौं सिरियलमा अभिनय गर्नुभएको छ ।

उहाँले २५ वर्षअघि ‘परेलीको माझ’ र टेलिफिल्म ‘तिहार’ निर्माण गर्नुभएको थियो । तर, दुवै सिर्जना दर्शकमाझ आउन सकेन । ध्रुव चलचित्र, नाटकमा अभिनय गर्न निकै ‘इन्जोय’ अनुभव गर्नुहुन्छ ।

चलचित्र ‘ईश्वर’ प्रति उहाँ निकै उत्साहित हनुहुन्छ । ‘प्रदर्शन मिति नजिकिँदै गर्दा मलाई डरभन्दा बढी उत्साह छ । मैले यो फिल्ममा मुख्य पात्रको भूमिका निभाएको छु । त्यसकारण दर्शकको माया पाउनेमा विश्वस्त छु’, उहाँ भन्नुहुन्छ ।

पोखरामा जन्मिनुभएका ध्रुवले कलाकार माओत्से गुरुङसँगै रङ्गमञ्चबाट काम सुरु गर्नुभएको हो । आफू माओत्से जस्तो स्थापित हुन नसके पनि त्यो स्थानमा पुग्न संघर्षरत रहेको उहाँ दाबी गर्नुहुन्छ । कविता, गीत, गजल लेख्न रुचाउने ध्रुवले बर्षमा दुईवटा नेपाली चलचित्र निर्माण गर्ने अठोट लिनुभएको छ । ‘त्यसको सुरुवात ईश्वरबाट गरेको हुँ’, उहाँ भन्नुहुन्छ । उनले लेखेका चारवटा गीत युट्युबमा यसअघि नै आइसकेका छन् । चलचित्र ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ ।

यसमा तपाइको मत

अन्य समाचार