काठमाडौं,
असार २१ ।
रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, गायकद्वय यम बराल र हेमन्त शर्मालाई साक्षी राख्दै गीत सार्वजनिक गरिएको हो ।
गीतमा गोविन्द कँडेल ‘आँसु’ को शब्द, हरि लम्सालको संगत छ । कार्यक्रममा गीतको भिडियो पनि देखाइएको थियो । बाबु छोरीको कथा बुनिएको भिडियोमा गायक ढकाल र पाँच वर्षीय कलाकार आर्या भानीको अभिनय देख्न सकिन्छ ।
भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिका निर्वाह गर्नुभएको छ । भिडियोलाई स्वीकृति सापकोटाले निर्देशन गर्नुभएको हो ।
कार्यक्रममा नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले ढकाल नारायणगोपाल पछिको राम्रो गायक भएको जिकिर गर्नुभयो । उहाँले गायक ढकालका गीतहरूपहिले देखिनै मनपर्दै आएको बताउँदै यो गीतले पनि दर्शकको मन छुने विश्वास व्यक्त गर्नुभयो ।
गायक ढकालले भिडियोको कथा कहीँकतै हाम्रो नजिकमा मेल खाने बताउनुभयो । उहाँले यो कथा आफ्नो पनि नजिकको रहेको र धेरैको जीवनमा मेल खाने प्रतिक्रिया दिनुभयो । निर्देशक सापकोटाले भिडियो समाजको बाहिर नआएको फरक कथा उतारेको जनाउनुभयो । भिडियोमा सुशील खनालको छायांकन तथा सम्पादन छ ।






