काठमाडौं,
असार २१ ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिनुहुने भएको छ । असार २८ गते (शुक्रबार) प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।
‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ ।
असार १७ गते राति एमाले र कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो । लगत्तै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि उहाँले संसदमार्फत विश्वासको मत लिने बताउँदै सोहीअनुसार पत्राचार गनुभएको हो ।
कांग्रेस र एमालेको गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ ।






