अफ्रिकाको ‘फूल’ र नेपालको ‘गोर्खा वारियर’ उत्कृष्ट

काठमाडौं,
असार १० ।

१२ औं संस्करणको नेपाल अफ्रिका चलचित्र महोत्सवमा अफ्रिकाको ‘फूल’ र नेपालको ‘गोर्खा वारियर’ उत्कृष्ट भएका छन् । महोत्सबमा नेपालबाट २० वटा चलचित्र र विभिन्न नौ मुलुकबाट आठ वटा अफ्रिकन चलचित्रसहित २८ वटा चलचित्र सहभागी थिए । रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा महोत्सबमा सहभागी चलचित्रहरू मध्य उत्कृष्ट चलचित्र तथा कलाकार प्राविधिकलाई पुरस्कार प्रदान गर्दै आइतबार साँझ यो महोत्सब सम्पन्न भएको हो । विजेताहरूलाई कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, अग्रज अभिनेत्री बसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेतीले अवार्ड प्रदान गर्नुभएको थियो ।

महोत्सबमा अफ्रिकाबाट सहभागी चलचित्रहरु मध्य उत्कृष्ट अफ्रिकन कथानक चलचित्रको अवार्ड रामदान सुलेमान निर्देशित साउथ अफ्रिका/मोजाम्बिया/जिम्बाबेको चलचित्र ‘फूल’ले जितेको छ । महोत्सबमा उत्कृष्ट अफ्रिकन बृत्तचित्रको अवार्ड तान्जानियाँ/टर्कीको बृत्तचित्र ‘ह्वाईट पोजन’ले प्राप्त गर्‍यो भने उत्कृष्ट लघु चलचित्रको अवार्ड क्यामरुनको लघु चलचित्र ‘सर्भाईभर’ले हाँसिल गर्‍यो ।

महोत्सबमा जुरी अवार्ड क्यामरुनको लघु चलचित्र अफस्प्रिङबाट निर्देशक टाटा फिडेलिसले हाँसिल गरे भने स्पेशल मेनसन अवार्ड जमैकाको लघु चलचित्र ‘इग्नोरेन्स इज अ लाइफस्टाईल’ले प्राप्त ग¥यो । अफ्रिकन तर्फको निर्णायकमा नेपालबाट पत्रकार तथा बृत्तचित्र निर्देशक गणेश पाण्डे, चलचित्र विकाश बोर्डका सदस्य एवं निर्देशक राजु केसी, निर्माता रौनकबिक्रम कँडेल, भारतबाट चलचित्रकर्मी राहुल बर्मा र बँगलादेशबाट चलचित्रकर्मी महम्मद शाहरियर कमल रहनुभएको थियो ।

यस्तै, नेपाली कथानक चलचित्र विधामा ‘गोर्खा वारियर’ उत्कृष्ट चलचित्र बन्न सक्यो भने यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले र उत्कृष्ट अभिनेताको अवार्ड रितेश चाम्सले जित्नुभयो । उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘सरी मम’बाट सरिता लामिछानेले, यही चलचित्रबाट अभिनेता जुरी अवार्ड प्रभात पाल ठकुरीले, संगीतकारको अवार्ड चलचित्र ‘काँडेतार’बाट दीपक शर्माले, गायिकाको अवार्ड ‘काँडेतार’बाटै सत्यकला राई र गायकको अवार्ड चलचित्र ‘शिरफूल’बाट आर्जन पाण्डेले प्राप्त गर्नुभयो ।

यस्तै, उत्कृष्ट बृत्तचित्र निर्देशकको अवार्ड ‘यसपालीको काँचो बायु’बाट भीमा मैनाली र बृत्तचित्र छायाँकारको अवार्ड ‘जर्नी टु गोक्यो’बाट राजन खरेलले प्राप्त गर्नुभयो । यस्तै, आदिबासी चलचित्रतर्फ उत्कृष्ट अदिबासी चलचित्रको अवार्ड लोजिमाले, यही चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड बिमला लिम्बुले, सह अभिनेताको अवार्ड रुद्र पाहिमले प्राप्त गरे । उत्कृष्ट आदिबासी अभिनेताको अवार्ड चलचित्र ‘सनाखत’बाट धिरने शाक्यले हाँसिल गर्नुभयो । यस्तै, जुरी अवार्ड लिम्बु चलचित्र ‘रित’ले, उत्कृष्ट निर्देशकको अवार्ड ‘रित’बाटै दिनेश लिङदेनले प्राप्त गर्नुभयो । नेपाली चलचित्र, आदिबासी चलचित्र तथा बृत्तचित्रको निर्णायकमा अभिनेता वीरेन्द्र हमाल, पत्रकार प्रदिप कार्की, गायक ओम सुनार, नृत्य निर्देशक कृष्ण रसाल रहनुभएको थियो ।

महोत्सबमा लघु चलचित्र तथा सांगीतिक लघु चलचित्रतर्फ उत्कृष्ट लघु चलचित्र निर्देशकको अवार्ड ‘घटेरो’बाट पुरुषोत्तम बस्नेतले, लघु चलचित्र अभिनेत्रीको ‘मातृत्व’बाट सिर्जना अधिकारीले, उत्कृष्ट पटकथाको अवार्ड लघु चलचित्र ‘धुकधुकी’बाट तारा अधिकारीले, उत्कृष्ट छायाँकारको अवार्ड लघु चलचित्र ‘रोटेन ब्लड’बाट रविन आचार्यले र उत्कृष्ट लघु सांगीतिक चलचित्र संगीतकारको अवार्ड शंकर थापा ‘स्माईल’ले हाँसिल गर्नुभयो । यो समूहको निर्णायकमा गायक हिमाल श्रेष्ठ, मोडलद्वय प्रतीक्षा काफ्ले र सजिना लामिछाने हुनुहुन्थ्यो ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महोत्सबको समापन समारोहलाई सम्बोधन गर्दै यो महोत्सबले नेपाल र अफ्रिकालाई चलचित्रको माध्यमबाट जोडेको बताउनुभयो । उहाँले यो महोत्सबलाई राज्यबाट सहयोगको लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

अग्रज अभिनेत्री बसुन्धरा भुसालले अघिल्लो वर्ष लघु चलचित्र अभिनेत्रीको अवार्ड आफुले जितेको र नेपालको एउटा राम्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सबको रुपमा आफूले यसलाई हेरेको बताउनुभयो ।

महोत्सब निर्देशक डब्बु क्षत्रीले महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रको सपना अनुसार १३ वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएको जानकारी गराए । अफ्रिकन फिल्मका जुरी प्रमुख गणेश पाण्डे र नेपाली चलचित्रका जुरी प्रमुख वीरेन्द्र हमालले चलचित्र चयनको प्रकृयाबारे प्रकाश पार्नुभएको थियो । महोत्सबमा हमालको प्रशिक्षणमा तीन दिनसम्म अभिनय प्रशिक्षण लिएर विधार्थीलाई सो समारोहमा प्रमाणपत्र प्रदान गरिएको थियो । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा यो महोत्सव भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार