काठमाडौं,
असार ६ ।
‘स्वयं र समाजका लागि योग’ मूलनाराका साथ १०औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा पूर्वप्रधान न्यायाधीश दीपककुमार कार्कीको प्रमुख आतिथ्यतामा बिहीबार योग दिवस मनाइएको छ ।
चन्द्रागिरि नगरपालिका–१५ स्थित विष्णुदेवी मन्दिरको हलमा आयोजना गरिएको कार्यक्रममा योगको महत्वमाथि प्रकाश पार्नुका साथै सबैले योग प्रशिक्षणमा सहभागिता जनाउँदै अभ्यास पनि गरेका थिए । सर्वप्रथम योगको प्रादुर्भाव गराउने भगवान शिव तथा दर्शन र अभ्यासका रूपमा स्थापित गराउने महर्षि पतञ्जलिको स्मरण सबै वक्ताहरूले गरेका थिए । विशिष्ट अतिथिका रूपमा गणतन्त्र भारतीय राजदूतावासकी राजनीति तथा शिक्षा विभागकी प्रथम सचिव प्रियदर्शनी आरले उपस्थित हुन पाएकामा खुशी व्यक्त गर्नुका साथै योगलाई विश्वव्यापी बनाउन सबैको सहयोग रहेको बताउनुभयो ।
प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक उन्नतिका लागि महत्वपूर्ण विधि भएको बताउनुभएको थियो । नगरपालिकाका मेयर घनश्याम गिरीले नगरका प्रत्येक वडामा योग समिति रहेको र उनीहरूलाई पालिकाका तर्फबाट सामान खरिदमा सहयोग गरेको बताउनुभयो । योगले समाजलाई समेत जोडेको कुरा बताउँदै नगरविकासमा सबैको सहयोग रहेको कुरा नेकपा माओवादी नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले बताउनुभयो ।
प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले योगको आवश्यक्ता बढ्दै गएको बताउनुहुँदै योग दिवसको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभएको थियो । विष्णुदेवी संरक्षण समितिका अध्यक्ष गौरीदवाडीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै मन्दिरबाट भइरहेको धार्मिक तथा सामाजिक कामका बारे जानकारी गराउनु भएको थियोे । सभापतिका आशनबाट नेपाल–भारत मानव विकाश तथा मैत्री संघका अध्यक्ष सूर्य भुसालले कार्यक्रममा भारत सरकार का प्रतिनिधिका रूपमा प्रथम सचिवको उपस्थिति हुनसकेकोमा विशेष धन्यवाद दिँदै यस क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने वचन दिनुभयो ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित, श्रीविन्ध्यवासिनी आध्यात्मिक संघका पूर्वअध्यक्ष केशवप्रसाद चौलागाईं, श्रीविन्ध्यवासिनी आध्यात्मिक संघका संरक्षक रामचन्द्र शर्मा, किसान नेटका कार्यकारी प्रमुख उदय खतिवडा, १५ वडाका वडा अध्यक्षलगायत व्यक्तित्वहरूको उपस्थिति थियोे । विष्णुदेवी मन्दिर संरक्षण समिति तथा नेपाल-भारत मानव विकास तथा मैत्री संघको पहलमा अन्य संघसंस्थासमेत संलग्न थिए ।






