काठमाडौं,
जेठ २१ ।
गीतकार संघले लोकप्रिय गीतकार टीका चम्लिङको जीवन रक्षाका लागि अपिल गरेको छ । संघका अध्यक्ष वन्सत वित्यासी थापाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै चाम्लिङको जीवन रक्षाका लागि अपिल गर्नुभएको हो । क्यान्सर जस्तो गम्भिर रोगबाट पिडित चामलिङको उपचारखर्चका लागि ठूलो धनराशी खर्च भईसकेको र खर्चको अभाव हुँदै गएकोले सहयोगको लागि अपिल गरेको अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
केहीदिन अघि संघका अध्यक्ष थापासहित निवर्तमान अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष रमेश कोईराला, महासचिव टिका राई (शिव), र कोषाध्यक्ष चेतन खतिवडाको टोलीले गीतकार चाम्लिङलाई निवासमा भेटेर स्वास्थ्य स्थितिको जानकारी लिएको थियो । संघको तर्फबाट २५ हजार रुपैयाँ नगद आर्थिक सहयोगसमेत गरेको संघले जनाएको छ ।
उहाँको जीवन रक्षाका लागि व्यक्तिगत र संस्थागत रुपमा आर्थिक सहयोग गरिदिनु हुन, स्वदेश तथा विदेशमा रहनु भएका सर्जक स्रष्टा, कलाकार, प्राविधिक एवं समग्र गीत संगीतप्रेमी साथै शुभचिन्तकमा संघले अपिल गरेको छ । ईच्छुक दाताले उहाँको जीवन रक्षाका लागि संघको (एभरेष्ट बैंकको खाता नम्बर ००१००१०५२००८४७ गीतकार संघ नेपाल)मा रकम जम्मा गरिदिन पनि अपिल गरिएको छ ।






