काठमाडौं,
जेठ १५ ।
गीतकार डा. भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ अर्पण गरिएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहबीच गीतकार सङ्घ नेपालले १५ औं स्थापना दिवसका अवसरमा संस्कृति, तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा डा. रिजाललाई उक्त सम्मान अर्पण गरिएको हो । डा. रिजाललाई एक लाख ५१ हजार रुपैयाँसहित माला र ताम्रपत्रद्वारा सम्मान अर्पण गरिएको थियो ।
त्यसैगरी, मैथिली गीतकार अशोक दत्तलाई २५ हजार २५२ नगद राशिसहित ‘विष्णु मनसरा मातृभाषा २०८०’ प्रदान गरिएको थियो ।
समारोहमा अमेरिकामा कार्यरत पद्मा लिंखा मगरलाई १५ हजार राशिसहितको ‘वर्ष डायस्पोरा गीतकार सम्मान’ प्रदान गरिएको थियो ।
त्यस्तै, ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार पुरस्कार-२०८०’ मा छनौटमा परेका १० गीत मध्येबाट दुई गीत पुरस्कृत भए । मदनमाबो लिखित ‘आमा’ र विष्णु भण्डारी लिखित ‘चाहना हो तिमी मेरो’लाई पुरस्कृत गरिएको थियो । माबो र भण्डारी जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो । गीतकार संघमा आवद्ध सदस्यहरूले २०८० सालका लागि दर्ता भई छनौटमा परेका १० गीतबाट यी दुई गीत उत्कृष्ट भएका हुन् ।
यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार-२०८०’ बाट दुई गीति पुस्तक पुरस्कृत भए । गीतकार पूर्णबहादुर साउद शिरिष लिखित ‘आधाआधी’ र जनक वाग्ले लिखित ‘मैना चरी कहाँ गई’ पुरस्कृत भएका हुन् । साउद र वाग्लेलाई जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री तामाङले गीतकार संघ र समग्र कलाकारिता क्षेत्रमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
सम्मानीत गीतकार डा. रिजालले ‘गीतकार संघले आफूलाई दिएको यो सम्मानले अझ उर्जाशील बनाएको बताउनुभयो । उहाँले दराजमा राखिएका पाण्डुलिपीहरूलाई अब चाँडै मूर्तरुप दिने बताउनुभयो ।
बिशिष्ट गीतकार राजेन्द्र थापाले संघको प्रशासनिक पक्षलाई मजबुत बनाउन अझै सोच्नु पर्ने बताउनुभयो । उहाँले ६० वर्ष सम्म नियमित कलम चलाउनुभएका गीतकार रिजाललाई सम्मान गर्न झण्डै ढिला भएको जिकिरसहित बधाई तथा शुभकामना दिनुभएको थियो । समारोहलाई सम्बोधन गर्दै संगीतकार संघ नेपालका अध्यक्ष तथा प्राज्ञ चेतन सापकोटाले गीतकार र संगीतकारहरू राज्यका ‘आविश्कारक’ भएको बताउनुभयो ।
संघका सल्लाहकार एवं अक्षयकोषका संरक्षक अमर बान्तुले भोला रिजाल जस्तो व्यक्तित्वलाई सम्मान गर्न पाउँदा सम्मानकै थप उचाई बढेको बताउनुभयो । प्रतिलिपी रजिष्ट्रार कार्यालय प्रमुख पूण्यमाया गुरागाईंले कार्यक्रमलाई सम्बोधन गर्दै गीत संगीतका क्षेत्रमा आफू नयाँ भएता पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गीतकार संघका संस्थापक अध्यक्ष कृष्णहरि बराल, गीतकार एवं पूर्व अर्थमन्त्री एसपी कोइराला, पुर्व अध्यक्ष एवं सल्लाहकार चुडामणि देवकोटा, अग्रज गीतकार विश्ववल्लभ, लगायतको आतिथ्यता रहेको थियो ।
समारोहका सभा अध्यक्ष एवं संघका अध्यक्ष वसन्त वित्यासी थापाले संघद्वारा सम्मान गर्ने संस्कारलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले गीतकारहरूलाई राज्यबाट नीतिगत रुपमै सम्बोधन हुनु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमा यो वर्ष संघको आजिवन सदस्यता लिएकाहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
गीतकार संघ नेपालका कोषाध्यक्ष चेतन खतिवडाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष रमेश कोइरालाले गर्नुभएको थियो ।






