काठमाडौं,
जेठ १३ ।
अञ्जु पन्तको स्वरमा रहेको देउडा गीत ‘लैजा परान’को म्युजिक भिडियोले दर्शकको मन जितेको छ । यो गीतमा शब्द तथा संगीत महेशकुमार औजीको रहेको छ भने संगीत संयोजन कृष्ण बाजुरालीको छ ।
समन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियो मर्मस्पर्शी बनेको छ । भिडियोमा वैँशालु उमेरमै अशक्त श्रीमानको स्याहार-सुसारमा नाबालिका छोरीसहितको जिम्मेवारी वहन गर्दै गरेकी महिलाको संघर्षलाई चित्रण गरिएको छ । ती महिला चर्को संघर्षबीच आफूलाई साहराविहिन् भएको अनुभवमा जिन्दगीदेखि हार खाएकी हुन्छिन्, त्यतिबेला यो समाजले हेर्ने दृष्टीकोण मात्र होइन, गर्भमा हुर्किँदै बाबाको प्यारो काखमा लुटपुटिने प्यासका साथ बाबा माथिको अपार प्रेम गीतको भिडियोमा देख्न सकिन्छ ।
कर्णाली ईन्टरटेन्टमेन्टबाट सार्वजनिक भएको यो गीतको भिडियोमा बिमल अधिकारी तथा मिस पविले अभिनय गरेका छन् । यो गीतका निर्माता भने पदमबहादुर बुढा मगर हुन् । सार्वजनिक भएको छोटो समयमा धेरै दर्शकको साथ पाएको गीतको भिडियो नवराज सुबेदी टिमले खिचेको हो ।






