रेकर्डका लागि कालापत्थरमा नृत्य

काठमाडौं,
जेठ ९ ।

नृत्य निर्देशकद्वय सुरेन्द्र राई र सुशन तामाङले गिनिज विश्व रेकर्डका लागि सोलुखुम्बुको कालापत्थरमा जोडी नृत्य गर्नुभएको छ । ‘सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको नृत्य’ विधाका लागि उहाँहरूले यो प्रयास गर्नुभएको हो ।

जेठ महिनाको ६ गते आइतबार पाँच हजार ४३८ मिटरको उचाइमा उहाँहरूले दीपक बज्राचार्यको गीत ‘मन मगन’मा दुई मिनेट ३० सेकेन्डसम्म नृत्य गर्नुभएको थियो । उहाँहरूको टोलीमा फोटोग्राफर सौगात कार्की र भिडियोग्राफरद्वय उमेश सापकोटा तथा सोनम केसी हुनुहुन्थ्यो ।

आठ हजार मिटरका पाँच हिमाल दुई पटक आरोहण गरेर गिनिज वर्ल्ड कीर्तिमानी बन्नुभएका सानु शेर्पा विशेष अतिथिका रुपमा सुरेन्द्र र सुशनको नृत्यको साक्षी बन्नुभएको थियो । खराब मौसमको बाबजुद पनि २०-२५ जना दर्शकको उपस्थितिमा उहाँहरूले नृत्य गर्नुभएको थियो ।

सुरेन्द्र र सुशनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा कार्यक्रम गर्नुभएको हो । गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा उहाँहरूले कार्यक्रम गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार