धरान,
जेठ ९ ।
भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले दुई/दुई वर्षमा प्रदान गर्दै आइरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वि.स. २०७९-२०८० का लागि संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेलाई भोजपुर प्रतिभा सम्मान र कवि करुणा राईलाई भोजपुर प्रतिभा पुरस्कार अर्पण गरेको छ । धरानमा आयोजित कार्यक्रममा वरिष्ठ कवि कुन्ता शर्माले उक्त सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो । सम्मान तथा पुरस्कार अर्पणपछि बोल्दै कार्यक्रमकी प्रमुख अतिथि शर्माले कवि, लेखकको लेखन, चरित्र र व्यवहारमा तालमेल हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सम्मानको राशि १५ हजार नगद, सम्मानपत्र र दोसल्ला रहेका छ भने पुरस्कारको राशि सम्मानपत्रसहित ३५ हजार नगद रहेको छ । भोजपुरे अमेरिकामा रहेका कारण भोजपुरेका तर्फबाट कवि शशी लुमुम्बूले भोजपुरेको सम्मान ग्रहण गर्नुभउको थियो ।
प्रतिष्ठानका महासभिव नरेश काङमाङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार शरण राईले सम्मानित प्रतिभा भोजपुरेको व्यक्तित्व तथा कृतित्वका बारेमा र कवि सुदीप पाख्रिनले पुरस्कृत प्रतिभा कवि करुणा राईको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम कलरब, धरानको संयोजनमा आयोजना भएको थियो ।






