काठमाडौं,
वैशाख ११ ।
कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउँदै हुनुहुन्छ । उहाँ दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो ।
थानी दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने हुनुभएको छ ।
उहाँको सवारीको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ । (नोटाम) जारी गरिएको छ ।
कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्रीसमेत सहभागी हुनेछन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो ।
नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उहाँको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।






