चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा ‘सिने समस्या र समाधान’ कार्यक्रम हुने

इटहरी,
वैशाख २ ।

चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा ‘सिने समस्या र समाधान’ कार्यक्रम हुने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश शाखाको आयोजना र मोरङ जिल्ला शाखाको सह(आयोजनामा कोशी प्रदेशका कलाकारहरूसँग ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रम भोलि सोमबार हुने भएको हो ।

पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचारप्रसारका लागि काठमाडौंका फिल्मकर्मीहरू पनि तानिने क्रम बढ्दो छ । त्यसैले यहाँका सिनेमा र सङ्गीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र सङ्गीतकर्मी माझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको तर्जुमा भएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाका सचीव सुवास संकल्प श्रेष्ठले जानकारी गराउनुभयो ।

बिराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइराला प्रमुख अतिथी रहने कार्यक्रम बिराटनगरको पुष्पलाल चोकमा अवस्थित ताण्डब रेस्ट्रो एण्ड क्याफेमा बिहान ११ बजेदेखी सुरु हुनेछ । अन्तक्रिया कार्यक्रमका लागि वक्ताको रुपमा वरिष्ठ कलाकार प्रेम सुब्बा, हल व्यायसायी कुबेर शर्मा, फिल्म निर्देशक केशब रायमाझी र गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल रहनुभएको छ ।

वक्ताहरूले आफ्नो आफ्नो विधा अन्तर्गत रहेर कोशी प्रदेशमा फिल्म छायांकन र प्रदर्शनमा देखिएका सिनेमा समस्यासँगै गीत सङ्गीत विधामा के कस्तो समस्या छ भन्ने बारेमा कुरा साझेदार गर्ने तालिका तय भएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश अध्यक्ष सन्जु राईले जानकारी गराउनुभयो ।

यस्तै यो सेसनको टिप्पणीकर्ताको रुपमा फिल्म निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राई रहेका छन् भने अन्तक्रियाको सहजकर्ता आयोजक संस्थाका सचीव सुवास संकल्प श्रेष्ठले गर्नुहुनेछ । नयाँ वर्ष २०८१ सालको प्रारम्भ भएको अवसरमा विश्व कला दिवस पनि बैशाख ३ गते पर्ने भएकोले यो समयमा कार्यक्रम गर्न लागिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार