काठमाडौं,
वैशाख २ ।
अस्कर कलेजले नेपालका दश सहरमा सञ्चालन गरेको दुई हप्ते सिनेमा साक्षरता अभियान सम्पन्न भएको छ । नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरूमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले सञ्चालित अभियान सफलतापूर्वक सम्पन्न भएको अभियानका इभेन्ट म्यानेजर नविन न्यौपानेले बताउनुभयो ।
न्यौपानेका अनुसार मुख्य फिल्म कसरी बन्छ र फिल्म पनि पढ्ने विषय हो भनेर बुझाउनु यस अभियानको मुख्य उद्देश्य थियो । ‘यो अभियानले युवा पुस्तामा फिल्मबारे अभिरूचि जगाउन र उनीहरुको बुझाइ फेर्न थोरै भए पनि योगदान गरेको हामीले महसुस गर्यौं,’ उहाँले भन्नुभयो । जसरी मेडिकल साइन्स, म्यानेजमेन्ट, इन्जिनियरिङ पढिन्छ फिल्म पनि सामान्य मनोरञ्जनमात्र नभएर त्यसरी नै अध्ययन गर्ने विषय हो भनेर धेरैलाई जानकारी समेत नरहेकोले यो अभियान चलाएको उहाँले बताउनुभयो ।
हरेक सहरमा एक दिनको तालिका बनाएर सञ्चालित कार्यक्रममा नेपाली सिनेमा र विश्वसिनेमाको इतिहासका सैद्धान्तिक पक्षदेखि पटकथा लेखन, छायांकन, अभिनय, चरित्र निर्माणलगायत प्राविधिक विषयसम्बन्धित गतिविधि र जानकारी समेटिको थियो ।
इभेन्ट म्यानेजर नवीन न्यौपानेले अभिनयको इतिहास र सिनेमामा चरित्र निर्माण कसरी हुन्छ भन्नेबारे जानकारी दिनुभएको थियो । परासर वाग्लेले फिल्म बनाउनु पूर्वचरणका प्रक्रियादेखि निर्माण भइसकेपछिका चरणमा आउने प्राविधिक पक्षहरूको उदाहरणसहित समग्रमा फिल्म कसरी बन्छ भनेर बताउनुभएको थियो । त्यस्तै सुरज कटुवालले विश्व सिनेमाको इतिहास र नेपाली सिनेमाको इतिहासबारे जानकारी तथा पटकथा लेखनको जिम्मा सम्हाल्नुभएको थियो । सेलिना घिमिरे र युबिना भट्टराईले साक्षरता अभियानका विविध प्राविधिक तथा व्यवस्थापकीय कार्यमा सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो ।
साक्षरता अभियानमा अस्कर कलेजका प्राध्यापक रामराजा दाहाल पनि सहभागी हुनुहुन्थ्यो । दशवटै शहरका गतिविधि अवलोकन गरेका उनका अनुसार बुटवल, बिर्तामोड, ईटहरी र पोखरामा एक सय पचासभन्दा बढी सहभागी उपस्थित थिए ।






