१२० सिनेमा हलमा ‘गोर्खा वारियर’

काठमाडौं
फागुन ११ ।

ऐतिहाँसिक नेपाली अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ आज फागुन ११ गते शुक्रवारबाट देशका देशका १२० भन्दा बढी सिनेमा हलबाट प्रदर्शनमा आएको छ । नेपाली, हिन्दी, अंग्रेजी र कोरियनसहित चार भाषामा बनेको यो चलचित्रको नेपाली संस्करण आजबाट प्रदर्शनमा आएको हो ।

शुक्रबार बिहानैबाट चलचित्रको व्यापार निकै राम्रो रहेको यसका निर्देशक मिलन चाम्सले जानकारी गराउनुभएको छ, ‘बिहानको शोमा केही ठाउँ हाउसफुल भयो भने केही ठाउँमा ८०/९० प्रतिसतको अक्युपेन्सी रहेको छ । ११ बजेको शोको बुकिङ पनि अत्यन्त राम्रो छ ।’ निर्देशक मिलन चाम्सले भन्नुभयो ।

बृटिश गोर्खा लाहुरको बाहुल्यता रहेको शहरहरू बिर्तामोड, धरान, नारायणघाट, पोखरा, दमौलीसहित काठमाडौंको क्युएफएक्स सभिल, क्युएफएक्स लाबिम, बिग, एफक्युब, वान सिनेमाज, आईएनएलगायतका सिनेमा हलमा हाउसफुलको अबस्था रहेको यसका वितरण संयोजक करण क्रेजीले जानकारी गराउनुभयो ।

ललितपुर क्षेत्रमा रहेका राई लिम्बु समुदायका करिब ६०० जनाले शुक्रबार ११ बजे ललितपुरको जाउलाखेल स्थित चिडिया खाना क्षेत्रबाट गोर्खा वारियरको समर्थनमा यो चलचित्रको ब्यानर बोकेर आफ्नो भुषभुसा र गाजाबाजासहित फिल्म हेर्ने आह्वान सहितको र्‍याली निकालेका थिए । सो र्‍याली लबिम मलमा गएर टुँगिएको थियो ।

र्‍यालीपछि कतीपय दर्शकले पहिलो शोमा टिकट नपाएपछि दोस्रो शोको लागि फिल्म कुरिरहेको बताए । केही दर्शक भने अन्य हलमा सिनेमा हेर्न गएका थिए ।

यो चलचित्रको बुधबार मात्र काठमाडौंको बिग मूभिजमा बृहत रेक कार्पेट प्रिमियर गरिएको थियो । जसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, अभिनेता हरिबंश आचार्यदेखि विभिन्न चलचित्रकर्मी, सञ्चारकर्मी, संघ संस्थाका पदाधिकारी एवम् सेलिब्रेटीहरूले राम्रो प्रतिक्रिया दिएका थिए । त्यस अघि ५ फागुनमा धरानमा गरिएको प्रिमियर र ७ फागुनमा पोखरामा गरिएको प्रिमियरबाट पनि सिनेमाले सुखद र प्रसंसनीय प्रतिक्रिया पाएको छ ।

चलचित्रको पहिलो अन्तर्राष्ट्रिय रेड कार्पेट प्रीमियर गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित ‘आइम्याक्स सिनेवर्ल्डमा गरिएको थियो । उक्त हलमा प्रीमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली चलचित्र हो ।

यो चलचित्रको कोरियाको लागि कोरियन र हिन्दी बाहेक अन्य विश्व बजारका लागि अमेरिकन कम्पनीले किनी सकेका कारण चलचित्र गोर्खा वारियर अबको सात वर्षसम्म युट्युवमा रिलिज नहुने पनि यसका निर्देशक चाम्सले जानकारी गराउनुभएको छ ।

चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारको अभिनय छ । चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ ले लेख्नुभएको हो भने एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन छ । राजेन्द्र मोक्तानको रंग संयोजन रहेको चलचित्रमा हिमाल केसीको द्वन्द निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा हुनुहुन्छ भने कार्यकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रूपमा सुरेश राई रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार