गान्तोक,
माघ ४ ।
जीवन शर्माका दुई उपन्यास ‘इन्भिन्सिबल लभ’ र ‘मेमोरी अफ सेभियर’ प्रकाशनमा आएका छन् । दुवै उपन्यास ड्रीमबुक प्रकाशन दिल्लीले साहित्य बजारमा ल्याएको हो ।
लेखक शर्माका अनुसार यी दुवै उपन्यास डिजिटल प्लेटफर्महरू एमाजोन, डृमबुक र पेपर ब्याक, र ई बुक किन्डल भर्सनमा पनि उपलब्ध छन् । पुस्तकलाई विश्वबजारमा पुगोस् भन्ने उद्देश्यले डिजिटल प्लाटफर्ममा राखिएको शर्माले जानकारी गराउनुभयो ।
उपन्यास ‘इन्भिन्सिवल लभ’ थ्रीलर तथा रोमान्टिक लभ स्टोरी भएको शर्मा बताउनुहुन्छ । ‘यो उपन्यास यात्रा सम्बन्धि हो । जापान र चाइनाको बीचमा अवस्थित येल्लो सीको क्रुजमा भएको रमाइलो घटनलाई समेटेर उपन्यास तयार पारेको हुँ’, शर्माले भन्नुभयो । साथै यो अलिक हरर किसिमको पनि रहेको उहाँको दाबी छ । ‘पढ्दै जाँदा पाठकलाई फिल्म हेरेको महसुस हुन्छ । यो उपन्यास पढिसक्दा हलबाट मुभी हेरेर निस्किएको महसुस होस् भन्ने उद्देश्यले लेखिएको हो’, उहाँले भन्नुभयो ।
यस्तै, ‘मेमोरी अफ सेभियर’ पनि यात्रा सम्बन्धी नै रहेको तर यसमा भने रेलवेको यात्रा र त्यहाँबाट देखिएको विविध जीवन र भोगाइ सम्बन्धि रहेको उहाँले बताउनुभयो ‘रेल विभिन्न ठाउँ हुँदै गएको हुन्छ, त्यसमा मान्छेको भोगाइ केकस्तो हुन्छ ? र समाजलाई भित्री रुपले कसरी नियाल्न सकिन्छ भन्ने देखाउन खोजिएको छ । साथै यो समाजलाई कसरी सही रुपमा ल्याउन सकिन्छ भन्ने परिकल्पना पनि हो । समाजलाई बिक्रीतिबाट बचाउने कुनै न कुनै सेभियर हुन्छ, जसको कहिलेसम्म आवश्यक हुन्छ रु भन्ने प्रश्नसहितको उपन्यास हो,’ शर्माले भन्नुभयो ।
लेखक शर्मा गायक तथा सङगीतकार पनि हुनुहुन्छ । उहाँको ‘आउ हामी प्रेम गरौं’, ‘फूल जस्तै’, ‘रेटेसम्म बज्छु’, ‘डाँडापाखा हरियाली’, ‘जतै मान्छे’, ‘अलिकती पिउदैछु’ लगायत दुई दर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । यस्तै करिब ४० जति गीतमा उहाँले सङ्गीत भर्नुभएको छ । ‘एग्रीकल्चरल मार्केटिङ एक्सपर्ट’ शर्मा हाल सिक्किम सरकारको मार्केटिङ फेडरेसनमा जेनेरल म्यानेजरसमेत हुनुहुन्छ ।






