काठमाडौं,
मंसिर २४ ।
स्वीकारोक्ति फाउन्डेसनले नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद राशिसहित स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण गरेको छ । स्वीकारोक्ति फाउन्डेसनले सञ्चालन गरेको स्वीकारोक्ति विश्व यात्रा २०२३ अभियान अन्तर्गतको यात्रा भारतको गुवाहाटी पुगेर क्षेत्रीलाई नगद सहित सम्मान गरेको हो ।
‘अस्तित्वहरूको न्यायिक सम्बोधन’ भन्ने मूल विचार बोकेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको स्वीकारोक्ति फाउन्डेसन अमेरीकाले बिहीबार गुवाहाटीको प्रराग कन्टिनेट्ल सभाहलमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्य तथा स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ र स्विकारोक्ति फाउन्डेसन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङको विशेष आतिथ्यतामा नेपाली साहित्यका साधक लिलबहादुर क्षेत्रीलाई नेपाली राशी ६ लाख स्वीकारोक्ति सिध्दि पुरस्कार हस्तान्तरण गरेको थियो ।
स्वीकारोक्ति फाउन्डेसनको ११ औ बार्षिक उत्सवको अवसरमा आयोजना भएको विश्व यात्रा २०२३ नेपालको झापा बेलडाँगीबाट सुरु भइ नेपालका विभिन्न शहरमा कार्यक्रम गर्दै भारतको दार्जिलिङ, सिक्किम हुँदै गुवाहाटी पुगेको र कार्यक्रमको समापन मंसिर २८ र २९ गते साहित्यीक तथा युवा शैक्षिक शिखर सम्मेलन आयोजना गरि काठमाडौँमा गरिने स्वीकारोक्ति दर्शन टोलीका सदस्य दीलिप घिमिरेले जानकारी दिनुभयो ।
अस्तित्वहरूको न्यायिक सम्बोधन भन्ने मूल विचार र मान्यता बोकेर विगत एघार वर्षदेखि निरन्तर अस्तित्वहरूको न्यायिक सम्बोधन र मानव चेतना अभिवृद्धिको निम्ति सञ्चालित एक गैरराजनीतिक, गैरधार्मिक, गैरनाफामुखी, संस्था भएको कर्ण गुरुङले बताउनुभयो । स्वीकारोक्ति फाउन्डेसन र स्वीकारोक्ति अभियानको यो एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा खुसी, शान्ति र सद्भाव फैलाउने विशेष उद्देश्यका साथ स्वीकारोक्ति विश्व यात्रा २०२३ आयोजना गरिएको गुरुङको भनाइ थियो ।
सम्मान समारोह कार्यक्रममा फाउन्डेसनका विशिष्ट सल्लाहकार समालोचक प्राडा गोविन्दराज भट्टराई, भाषा आयोग नेपालका मातृकाप्रसाद पोखरेल, सिक्किम साहित्य सभाका अध्यक्ष डा. राजकुमार क्षेत्री, साहित्यकार डा. छत्रमान सुब्बा, साहित्यकार डा. इन्दुप्रभा देवी, स्विकारोक्ति फाउन्डेसनका अभियान्ताहरू पातलो अन्तरे, शेखर कोईराला, दियालो शुसन माझी, नेत्र आचार्य, अर्जुन उप्रेती, शिला उप्रेती, गजलकार विवश बलिभद्र कोईराला, खगिन्द्रा खुशी लगायतको उपस्थिति थियो ।
सम्मानित साहित्य साधक लिलबहादुर क्षेत्रीले स्वीकारोक्ति दर्शनको माध्यमबाट नेपाली जातिलाई एउटै मालामा उनेर एक अर्कोको अस्तित्व स्वीकार गर्न सन्देश छर्दै हिडेका स्वीकारोक्ति दर्शनका अभियान्ताहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।
लिलबहादुर क्षेत्री फाउन्डेसनका अध्यक्ष डा. शिवनाथ शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन डा. खगेन्द्र शर्मालेले गर्नुभएको थियो ।






