‘फूल हौ तिमी…’ लोकार्पण

काठमाडौं,
कात्तिक २० ।

गीतकार ज्ञानेन्द्र गदालको ‘फूल हौ तिमी…’ गीत लोकार्पण गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा सङ्गीतरत्न शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो लोकार्पण गरिएको हो । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत, निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ गीतमा ।

प्रमुख अतिथि बास्कोटाले २०२८ सालमा आफैंले शब्द लेखेर र सङ्गीत गरेको क्षण सम्झिँदै त्यतिखेर दर्शक र श्रोताको मनमा मात्र दर्ता गर्दा हुने समय रहेको भन्दै अहिलेकोे अवस्था फेरिएको सुनाउनुभयो । उहाँले गीतकार गदालको शब्द, साहित्य सरल रहेको पनि बताउनुभयो । बास्कोटाले सङ्गीतकार सन्तोषको आफ्नोपनको सङ्गीतले गीतलाई सुन्दर बनाएको जिकिर गर्नुभयो ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्वमा भएको कार्यक्रममा सङ्गीतकार श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका पूर्वअध्यक्ष तथा गायक कन्हैया सिंह परियार, चलचित्र निर्मात्री सावु गदाल कार्की, गीतकार संघ नेपालका कोषाध्यक्ष चेतन खतिवडा, उपाध्यक्ष रमेश कोइरालालगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार