आज दोस्रो दिन पनि दशैँको टीका लगाउने क्रम जारी

काठमाडौं,
कात्तिक ८ ।

दशैँको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।

त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ-जाउ गर्नेहरूको चहलपहल जारी छ । नौ दिनसम्म दशैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो । टाढाटाढा जानु पर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।

यद्यपि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । अरु भू-भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।

कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार