काठमाडौं,
असोज १३ ।
पितृ सम्मान गरिने १६ श्राद्ध सुरु भएको छ । श्रावणमा मलमास परेकाले ढिलागरी सोह्रस्राद्ध १३ असोज शनिबारदेखि प्रारम्भ भएको हो । यस अवधिलाई पितृ पक्ष भनिन्छ । श्राद्ध पक्षका १६ दिनमा भाद्रशुक्ल पूणिर्माको दिन पूणिर्मा तिथिको श्राद्ध गरिन्छ । यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्यासम्म तिथिअनुसार श्राद्ध गरिन्छ । अन्तिम दिन सर्वपितृमोक्ष अमावस्या पर्छ ।
पितृहरूलाई प्रशन्न पार्न तथा जानेर वा नजानेर हामीबाट पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा उनीहरू सँग क्षमा माग्ने प्रचलन हो श्राद्ध पक्ष । श्राद्ध पक्षमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावस्याका दिन श्राद्ध गर्छन् ।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने मान्यता छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुने गर्दछ ।






