✍️ सुनिता गिरी
हङकङ,
भादौ ९ ।
फुलहरू मुर्झाएको नदेखाउनु
मलाई-
कोपिला फक्रीरहेको मनपर्छ ।
ताराहरू अस्ताएको नदेखाउनु
मलाई-
उदाईरहेको जून मनपर्छ
गइरहेको कुर्कुच्चाको होइन
मलाई-
आईरहेको पाईतलाको अगाध माया लाग्छ ।
बिर्सिएको मधुर प्रेमको होइन
मलाई-
सम्झिरहने पिडाको माया लाग्छ ।
न तिमीलाई थाहा छ
न मलाई थाहा छ
यो जीवनको अन्त्य
यो प्रेमको गहिराई
सधैं सम्झिरहुँ/साचिरहुँजस्तो सम्झनालाई
न तिमीले छेक्न सक्छौ
न म आफैँले रोक्न सक्छु
पहिरो झरिरहेको दृश्य नदेखाउनु
मलाई-
मलाई बन्दै गरेको बस्ती मनपर्छ
रोईरहेको मानिसको आँसु नदेखाउनु
मलाई-
मुस्कुराईरहेको बालक मनपर्छ
बिछोडको कहानी नसुनाउनु
मेरो छेउमा-
बियोगको गीत नबजाउनु
मलाई-
केवल प्रीतको बासुरी धुन मनपर्छ
मलाई-
केवल नवीन सृष्टि मनपर्छ ।
अध्याँरोमा लादै नलैजानु
मलाई-
उज्यालो मनपर्छ
ओरालोतिर नडोर्याउनु
मलाई-
मलाई उकालो मनपर्छ ।
मृत्यु-मृत्यु नभन्नु
मलाई-
अनन्त आयु मनपर्छ
त्यसैले मलाई मैले बाँचिरहेकै
जीवन मनपर्छ ।






