मेरो भ्वाइसको उपाधि प्रितम र डान्स युनिभर्सको उपाधि खुशी लाई

काठमाडौं,
भदौ ३ ।

सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले जित्न सफल हुुनभएको छ । ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) हुनुभयो । शनिबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उहाँहरू छानिनु भएको हो ।

मोरो भ्वाइस युनिभर्स सेकेन्ड रनरअफमा शरद हुमगाईँ (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साईराज खाती (भारत) रहनुभएको छ । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लीङ मगर (नेपाल) रहनुभएको छ ।

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड रुपैयाँ, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाख रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’ मा समूह नृत्यतर्फ भने नेपाल प्रहरी (नेपाल) विजेता बनेको छ । सो समूहले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । फस्ट रनअर अपमा नितृ कला प्रतिष्ठान (धरान)ले १० लाख र सेकेन्ड रनरअपमा भारती कल्चर ग्रुप (भारत(ले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । उहाँहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार प्रदान गर्नुभएको थियो ।

गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जिलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईँ अन्तिम पाँचमा हुनुहुन्थ्यो भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की (थाइल्यान्ड), देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा हुनुहुन्थयो ।

पुरस्कार वितरण समारोहमा उक्त फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एउटै मञ्चमा विश्वभरका प्रतिभाशाली नेपाली सुन्दर फूल देखिएका र उनीहरूको सपनासँगै कला र संस्कृतिलाई आफूहरूले विश्वभरका नेपाली र नेपालीभाषीसम्म पुनः पुर्‍याउन सफल भएको बताउनुभयो ।

गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा हुनुहुन्थयो भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियङ्का कार्की, केकी अधिकारी र नरमान राई हुनुहुन्थ्यो।

यसमा तपाइको मत

अन्य समाचार