काठमाडौं,
असार २४ ।
युवा साहित्यकार अनल गौतमका एकै पटक दुई वटा पुस्तक सार्वजनिक भएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथासङ्ग्रह ‘दाहिने हाते सिक्का र साईकल’ एकै साथ लोकार्पण गरिएको हो ।
वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा. रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणा लगायतका व्यक्तित्वले ती पुस्तकहरू लोकार्पण गर्नुभएको हो ।
लोकार्पण समारोहमा लेखक गौतमलाई वधाई दिँदै कलाकार मदन कृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथासङ्ग्रह निकै नै रोचक र समयसामयिक लागेको बताउनुभयो ।
कथासङ्ग्रह ‘दाहिने हाते सिक्का र साईकल’ को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले सङ्ग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकले अवश्य छुने धारणा व्यक्त गर्नुभयो ।
समालोचक डा. रामप्रसाद ज्ञवालीले ‘बार्दली’ उपन्यासको समालोचना गर्दै लेखक गौतमको सरल शैलीमा भावना व्यक्त गर्न शैलीको प्रशंसा गर्नुभयो । उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै डा. ज्ञवालीले उपन्यासले नयाँ पुस्तालाई केही सन्देशसमेत दिने आशय व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै लेखक गौतमले पुस्तक लेख्न भन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गर्दै यसपटक ऐरावती प्रकाशन प्रालिसँगको सहकार्यमा दुई वटा पुस्तक पनि सहजै सार्वजनिक गर्न सकिएको बताउनुभयो ।
ऐरावती प्रकाशन प्रालिका प्रमुख रामदेव पाण्डेको अध्यक्षतामा आयोजित समारोहमा पाण्डेले साहित्यका गौतमको लेखन शैलीको प्रशंसा गर्दै विषम परिस्थितिमा छोटो समयकै अन्तरालमा दुई पुस्तक प्रकाशित गरेको बताउनुभयो ।
मुलतः आख्यान विधामा कलम चलाउन रुचाउने गौतमलाई यसमा पनि कथा तथा उपन्यासमा विशेष रुची छ ।
२०३८ साल असार १७ गते हेटौंडा-५, मकवानपुरमा जन्मिनुभएका साहित्यकार गौतमले २०६४ सालमा ‘शुभ प्रभात’ शीर्षकको हाईकुसङ्ग्रह प्रकाशन गर्दै औपचारिक साहित्यिक प्रकाशनको यात्रा प्रारम्भ गर्नुभएको हो । त्यसपछि साहित्यकार गौतमले २०६६ सालमा कवितासङ्ग्रह ‘चिनारी’ सार्वजनिक गर्नुभएको थियो ।






