बारा,
असार ५ ।
लोपोन्मुख अबस्थामा रहेको ‘पँवरिआ नाच’को संरक्षणको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले बारा जिल्लाको आदर्श कोतवाल गाउपालिकामा ‘पँवरिआ नाच’ सङगोष्ठि कार्यक्रम २०८०’ आयोजना गरेको छ ।
प्रज्ञा परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख प्राज्ञ बखत हमालको सभापतित्वमा सम्पन्न सो सङ्गोष्ठी कार्यक्रममा स्थानीय कलाकारहरूले पँवरिआ नृत्य प्रस्तुत गरेका थिए । सो नृत्य हेर्न स्थानीयहरूको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले सो नृत्यबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सो कार्यपत्रमा पँवरिआ नृत्यको उत्पत्ति, विकाश क्रम, अहिलेको अबस्थाबारे उल्लेख गर्नुभएको थियो । उहाँको कार्यपत्रमा भाषा आयोगका सदस्य गोपाल अस्क र प्राज्ञ विनित ठाकुरलगायतले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै भाषा आयोग सदस्य मातृका पोखरेलले यस्तो लोपोन्मुख नृत्य तथा कला संस्कृतिलाई जोगाउन यस्ता कार्यक्रमलाई देशभरी पुर्याउन सुझाब दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य बखतबहादुर हमाल (सुवर्ण)ले मधेस प्रदेश र तराईमा बसोबास गर्ने मुस्लिम समुदाय भित्रको पँवरिआ जाति बिशेषको यो नृत्य जीवन यापनसँग जोडेर लैजान कठिनाई भएकोले यो लोपोन्मुख अबस्थामा रहेको बताउनुभयो । यसको खोज, अनुसन्धान, संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले आफूहरूले आदर्श कोतवाल गाउँपालिकामा यो कार्यक्रम गरेको पनि हमालले प्रकाश पार्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानको तर्फबाट कर्मचारी संघका अध्यक्ष हिलारी बन्धु भुजेलले स्वागत मन्त्यब्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
स्थानीय कलाकारहरूले पँवरिआ नृत्य पछिल्लो समय लोपोन्मुख अबस्थामा रहेकोले यसलाई संरक्षण गर्नका लागि आयोजकसँग अपिल गर्नुभयो । कार्यक्रममा बोल्दै अतिथिहरूले नेपाली लोक तथा मौलिक नृत्यहरूको थप खोज र अनुसन्धानगरी पुस्तान्तरण गर्ने अभिलेखिकरण गर्नुपर्नेमा भनाइ राख्नुभयो । कार्यक्रमको सहजीकरण जयप्रकाश लाल दासले गर्नुभएको थियो ।






