नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको १४औं अभिव्यक्ति शृङ्खला सम्पन्न

बेलायत,
जेठ २२ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको १४औं अभिव्यक्ति शृङ्खला सम्पन्न भएको छ । फोल्कस्टोन स्थित नविन्तन भिलेज हलमा सम्पन्न चौधौं शृङ्खलामा बहुप्रतीभासाली स्रस्टा गायक, सङ्गीतकार, निर्देशक तथा समाजसेवी धन ‘किरण’ गुरूङलाई मञ्च प्रदान गरिएको थियो । शनिबार सम्पन्न कार्यक्रममा स्रस्टा धन किरण गुरुङलाई नेपाली टोपी र ताम्र पत्रले सम्मान गरिएको थियो । झन्डै दुइ घण्टा चलेको उक्त कार्यक्रममा स्रस्टा गुरुङले पन्ध्र वटा उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्व र गैर आबशीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतित्थ्य रहेको कार्यक्रममा केन्ट काउन्टी काउन्सेलर रोरि लव बिसेश अतिथिका रुपमा रहनुभएको थियो । यसैगरी उक्त कार्यक्रममा सहभागीहरू माझ बरिष्ट सङ्गीतकार गणेश गुरुङ, निर्देशक प्रभु गुरुङ, गायक तथा सङ्गीतकार बिसी राई, हिमालयन ब्याण्डका ड्रमर राजिब राई जस्ता स्थापित स्रस्टाहरू समेत रहनुभएको थियो । प्रतिष्ठानका सचिव नरेश नातिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने संस्थाका पुर्व अध्यक्ष दयाकृष्ण राईले स्वागत मन्तब्य राख्नुभएको थियो ।

विसं २०३८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएका गायक धन ‘किरण’ गुरूङले चारसय जति गीतमा आफ्नो स्वर दिनुभएको छ । कलिलो उमेरमै बृटिश गोर्खा पल्टनमा आवद्ध हुन पुग्नुभएका उहाँको सन् १९८७ मा ‘डाडाँ पारिको त्यो गाउँमा’ बोलको गीत बिएफबिएस गोर्खा रेडियो हङकङमा गाएपछि निकै चर्चामा रहेको थियो । पपस्टार नोर्देन तेन्जिङ भुटिया लगायतको हिमालयन व्याण्ड सन् १९९० बाट धन ‘किरण’ गुरूङले हिमालयन व्याण्ड २ नामले सञ्चालन गर्दै आइरहनुभएको छ । उहाँको गीति एल्वमहरू ‘चाहाना’-सन् १९९१, ‘अतीत’-सन् १९९४, ‘भावना’-सन् २००० साल, ‘फेरि आज’-सन् २००२ साल, ‘जिन्दगी’-सन् २००४ साल र ‘जोर्नी’-सन् २०१४ सालमा प्रकाशित भएको छ । उहाँको लोकप्रिय गीतहरू ‘तिमी र म’, ‘किन हो किन’ र ‘हावा सरर’ले नेपालको विभिन्न म्युजिक अवार्डहरू जित्न सफल भएको पाइन्छ । उहाँका केही गीतहरू र तीनका भिडियोले विश्वभरिका दर्शक स्रोताहरूको मन जित्न सफल भएका छन् । धन ‘किरण’ गुरूङको आफ्नै म्युजिक कम्पनी डिजी प्रोडोक्शन हाउसमार्फत गीत रेकर्डिङ, म्युजिक भिडियो र छोटा फिल्महरू उत्पादन गर्ने र भ्वाइस रेकर्डिङ कार्यहरू पनि गरिरहेको छ । गायन बाहेक गीत लेखन, सङ्गीत संयोजन र म्युजिक भिडियो निर्देशनमा पनि उहाँ सकृय रहँदै आउनुभएको छ ।

बृटिश गोर्खा सेनामा लामो समय सेवा गर्नुभएका धन ‘किरण’ गुरूङको सामाजिक क्षेत्रको पाटो पनि छुट्टै रहेको छ । उहाँ फोल्कसटन टाउनको पूर्व काउन्सिलर पनि हुनुहुन्छ । उहाँको अगुवाईमा स्थानीय समुदाय सँगको सहकार्यमा गोर्खा मेमोरियल स्टाच्यू फोल्कसटन्को सामुद्रिक क्षेत्रमा स्थापना गरिएको छ । उहाँले यस्ता धेरै सामाजिक कार्यहरू सम्पन्न गर्नुभएको छ । स्थानीय बृटिश तथा गोर्खा समुदायसँग उहाँको राम्रो सम्बन्ध छ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतलले स्थापना कालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरी उनको सृजनाहरू प्रस्तुत गर्दै आइरहेको छ । सन् २००८ सालमा गायक तथा सङ्गीतकार चोक गुरूङलाई मञ्च प्रदानगरी अभिव्यक्ति शृङ्खलाको सुरू गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २०१० सालमा कवि तथा कथाकार टंक वनेम, सन् २०११ सालमा सङ्गीतज्ञ किसोर गुरूङ, सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली, सन् २०१३ सालमा गायक नोर्देन तेन्जिङ भुटिया, सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा, सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई, सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राई, सन् २०१७ सालमा कवि डा. रूपक श्रेष्ठलाई मञ्च प्रदान गरिएको थियो । यस्तै, सन् २०१८ सालमा साहित्यकार गणेश राई, सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङलाई अभिव्यक्ति शृङ्खलामा मञ्च प्रदान गरिएको थियो । सन् २०२० सालमा कोभिडको कारण कुनैपनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन । सन् २०२१ सालमा भर्चुअलमार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार