गीतकार संघको १४ औं स्थापना दिवस सम्पन्न, ‘गीतकार वर्ष अमर भावना’द्वारा दुर्गालाल सम्मानित

काठमाडौं,
जेठ १५ ।

गीतकार संघ नेपालको १४ औं स्थापना दिवस सम्पन्न भएको छ । राजधानीमा आइतबार एक विशेष समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा संघको स्थापना दिवस सम्पन्न भएको हो ।

सो अवसरमा अग्रज गीतकार दुर्गालाल श्रेष्ठलाई ‘वर्ष अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०७९’बाट सम्मानित गरेको थियो । प्रमुख अतिथि मन्त्री किरातीले श्रेष्ठलाई सम्मानस्वरुप एक लाख ५१ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गर्नुभएको थियो ।

सोही समारोहमा राष्ट्रगानका रचयिता व्याकुल माइलालाई ‘गीतकार विशेष सम्मान-२०७९’ बाट सम्मानित गरिएको थियो । उहाँलाई १५ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, संघका तर्फबाट ‘वर्षको डायस्पोरा गीतकार सम्मान’ खेम रिजाललाई १५ हजारसहित सम्मान प्रदान गरिएको थियो ।

लिम्बू भाषाका गीतकार भगत सुब्बा (लाजेसा याक्थुङ्बा) र गीतकार विष्णु मन्सरा घलेलाई जनही २५ हजार २५२ रुपैयाँसहित ‘मातृभाषा गीतकार सम्मान २०७९’ प्रदान गरिएको थियो ।

त्यस्तै, ‘वर्ष गीत पुरस्कार-२०७९’बाट दुई जना पुरस्कृत भए । ‘भुइँ सोरी’ गीतबाट सञ्जिव र ‘एक मुठी सास’बाट उमेश लम्साल पुरस्कृत हुनुभएको थियो । उहाँहरूले जनही २८ हजार ५०० रुपैयाँसहित पुरस्कृत गरिएको थियो । मनोनयनमा परेका २०७८ सालभरका १० गीतबाट यी दुई गीत उत्कृष्ट भएका हुन् ।

यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार-२०७९’बाट गीति पुस्तक ‘यला यला’का लागि गीतकार गंगाराज मुकारुङ पुरस्कृत हुनुभएको छ । उहाँलाई ५७ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो ।

समारोहमा गीतकार संघ नेपाल अध्यक्ष वसन्त वित्यासी थापाले गीतकारको प्रतिलिपि अधिकार’का विषयमा आवाज उठाएको उल्लेख गनुभयो भने संघका संस्थापक अध्यक्ष डा. कृष्णहरि बरालले संघको स्थापनाका स्मरण गर्दै आफ्ना भनाइ राख्नुभएको थियो ।

समारोहमा गीतकार संघ नेपालका कोषाध्यक्ष चेतन खतिवडाले स्वागत मन्तव्य दिनुभएको थियो भने वधाई तथा शुभकामना मन्तव्य पुर्व अध्यक्ष एवं सल्लाहकार चुडामणी देवकोटा, गीतकार संघका संस्थापक अध्यक्ष कृष्णहरि, गीतकार एवं पूर्व अर्थमन्त्री एंव सल्लाहकार एस्पी कोइराला, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठनका कुलपति निशा शर्माले दिनुभएको थियो । यस्तै, सम्मानीत स्रष्टा गीतकार दुर्गालाल श्रेष्ठले आफ्नो भनाइ राख्नुभएको थियोे भने प्रमुख अतिथि संस्कृती, पर्यटन तथा नागरीक उड्डयन माननिय मन्त्री सुदन किरातीले समारोहलाई सम्बोधन गर्नुभएको थियो । समारोहका सभा अध्यक्ष एवं संघका अध्यक्ष वसन्त वित्यासी थापाले गीतकारको प्रतिलिपि अधिकार’का विषयमा आवाज उठाएको उल्लेख गनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार