✍️ भूमिकला पौडेल
ललितपुर,
जेठ ६ ।
राष्ट्रिय शारीरिक अपाङ्ग संघ-नेपालको आयोजनामा अपाङ्गता समानता तालिम/अनुशिक्षण कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका-१ देखि २९ सम्मका इन्जिनियरहरूलाई अपाङ्गता सम्बन्धी विषयमा जानकारी होस भन्ने उद्धेश्यले सो तालिम/अनुशिक्षण प्रदान गरिएको हो ।
कुनै पनि भौतिक संरचनाहरू निर्माण गर्दा सो संरचनाको नक्सा कोर्ने काम इन्जिनियरहरूले गर्ने हुँदा यदि उनीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई भौतिक पहुँचको कत्तिको महत्व छ भन्ने जानकारी भयो भने उनीहरू अपाङ्गतामैत्री संरचना बनाउँनका लागि अभिप्रेरित हुने थिए भन्ने उद्धेश्यले सो अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
तालिमममा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालका महासचिव रमा ढकालले अपाङ्गता भनेको के हो, अपाङ्गताका प्रकारहरू तथा परिचयपत्रका बारेमा प्रश्तुतीकरण गर्नुहुँदै सहभागिहरूलाई यस बारेमा बिस्तृत रूपमा जानकारी गराउँनुभयो । यसैगरी राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालका अध्यक्ष किरण शिल्पकारले सहभागिहरूलाई अपाङ्गता समानता तालिम/अनुशिक्षण प्रदान गर्नुभयो ।
तालिममा आफ्नो प्रश्तुतीकरणका क्रममाः उहाँले अपाङ्गता भएका व्यक्तिहरूले भौतिक संरचना अपाङ्गतामैत्री नहुँदा हरेक ठाउँमा अवरोधको सामना गर्नु परेको र सो अवरोधकै कारण उनीहरू पछाडि पर्ने गरेको विभिन्न चित्रहरू तथा भिडियोहरू मार्फत उदाहरण दिँदै स्पष्ट पार्नुभयो ।
तालिममा सहभागिता जनाउँनु हुँदै ललितपुर महानगरपालिका, पूर्वाधार विकास महाशाखाका बरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले यस अपाङ्गता समानता तालिम/अनुशिक्षणले अपाङ्गता सम्बन्धी विषयमा एकदमै महत्वपूर्ण जानकारी दिन सफल रहेको बताउँनुहुँदै अबका दिनमा आफ्नो महानगरपालिकालाई अपाङ्गतामैत्री बनाउँनका लागि सक्दो पहल गर्ने बताउनु भयो ।
यस तालिम/अनुशिक्षणमा उपस्थित ललितपुर महानगरपालिका २० जना इन्जिनियरहरूले यस तालिम/अनुशिक्षणमा लिइसकेपछि अपाङ्गता भएका व्यक्तिहरूका लागि भौतिक पहुँचको महत्व बारे बुझ्न पाएकोमा आयोजकलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा अपाङ्गतामैत्री भौतिक संरचनाहरू निर्माणमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।






