काठमाडौं,
जेठ २ ।
प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बस्दैछन् । सबै समितिका बैठक बिहान ९ बजे बोलाइएको छ ।
प्रतिनिधिसभा गठन भएको ६ महिनासम्म पनि मिनी संसद भनिने संसदीय समितिहरू क्रियाशील थिएनन् ।
सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान ९ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिनुभएको थियो ।
सभामुखको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति छन् ।
समितिका सभापति चयन नभइसकेकाले बैठकको अध्यक्षता हाल समितिका ज्येष्ठ सदस्यले गर्नेछन् । समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची बनाइएको छ ।






