सांस्कृतिक कार्यक्रमसहित धरानेहरूको नयाँ वर्ष शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम

भक्तपुर
वैशाख १९ ।

‘धरानैको बजारैमा माया बस्यो एकै नजरमा’यो गीत शनिबार भक्तपुरको सल्लाघारीमा निकै बज्यो । सन्दर्भ थियो, देशकै सुन्दर नगरी धरानबाट काठमाडौंमा आई बिभिन्न पेशा व्यवसायमा क्रियाशील धरानेहरूको नयाँ वर्ष शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम ।

क्रियाशील नाट्यकर्मी राजेन्द्र रिमालको अगुवाईमा धरानबाहिरका धराने नामक अनौपचारिक समुहद्वारा आयोजित धराने बनभोज कार्यक्रममा काठमाडौंमा रहेका धरानेहरूको अभूतपूर्व सहभागिता थियो । कार्यक्रममा न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठ, पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा, नेपाल प्रहरीका एआईजी सन्दीप भण्डारी, पूर्व सांसद जयकुमार राई, नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने, नेपाली सेनाका जर्नेल नवराज गुरुङ लगायतको उपस्थिति थियो । कार्यक्रम पत्रकार आनन्द श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको आवश्यकता र औचित्यको बारेमा बोल्दै राजेन्द्र रिमालले काठमाडौंमा रहेका धरानेहरूको नेटवर्क, एकता र आवश्यक पर्दा एकअर्काको सहयोग जस्ता कुराहरू प्राथमिकता रहेको उल्लेख गर्नुभयो । यस्तो कार्यक्रमको आवश्यकता धेरै पहिलादेखि नै महसुश गरेको भएपनि बल्ल सम्भव भएको उहाँको भनाइ थियो ।

उहाँले कार्यक्रमका उपस्थित एवम् पुरस्कार प्रायोजन गर्ने सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा एक सय जना जतिलाई विभिन्न पुरस्कार वितरण गरिएको थियो । कोशेली जुत्ता, रत्न आभुषण ज्वेलर्स, धरान गहना गृह, नगमा–निर्जल, टिप्सी ब्याम्बो रेष्टुरेन्ट, फङ्की हाउस रेष्टुरेन्ट, विनोद श्रेष्ठ राजवंशी, प्रमेश ताम्राकार लगायतले पुरस्कार प्रायोजन गरेका थिए ।

कार्यक्रममा बोल्दै न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठले आफूहरूले धेरै पहिला धरानेहरूको संगठन बनाउने प्रयास गरेको स्मरण गर्नुभएको थियो । त्यस्तै पूर्व मन्त्री मीन विश्वकर्माले अहिले धरान भाईरल शहर भएको भन्दै धरानले श्रम संस्कृति विकासमा देशकै अगुवाई गरिरहेको जिकिर गर्नुभयो । उहाँले धरान राष्ट्रिय बजेट भन्दा पनि आफ्नै बुताबाट बनेको शहर भएको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै एआईजी सन्दीप भण्डारीले वर्षौं अगाडिका साथीभाइ तथा अग्रजहरूसँग एकै ठाउँमा भेट्न पाईएकोमा आयोजकलाई धन्यवाद दिनुभएको थियो । उहाँलाई सम्पूर्ण धरानेहरूको तर्फबाट बधाई ज्ञापन तथा आगामी दिनमा आईजिपी नै हुने शुभकामनासमेत व्यक्त गरिएको थियो ।

कार्यक्रममा लोकप्रिय गायिका रमना श्रेष्ठ तथा गायक सपन श्रेष्ठ, रनक नव बस्नेत, मथुरा श्रेष्ठ लगायतले गीत प्रस्तुत गर्नुभएको थियो । विश्व संरक्षण संघ आईयुसिएनका पूर्व प्रमुख राजेन्द्र खनालले यस्तो कार्यक्रमको आयोजना चानचुने कुरा हैन भन्दै आयोकलाई धन्यवाद दिनुभएको थियो । त्यस्तै, विनय श्रेष्ठले आयोजकलाई परेको आर्थिक भार सबैले बोक्न तयार रहनुपर्ने बताउनुभयो । उहाँका अनुसार यत्रो भव्य कार्यक्रम आयोजना गरेर हामीलाई गुन लगाउने आयोजकलाई आर्थिक भार पनि थप्नु उनीहरू प्रति अन्याय हुने बताउनुभयो । प्राध्यापक सञ्जय कोईरालाले अनपेक्षित संख्याका अत्याधिक सहभागी भए पनि गुनासो गरिहाल्नु पर्ने ठाउँ नभएको उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार