पुण्यको ‘कविताको देश’

✍️ पुष्प शर्मा
सिङताम, सिक्किम
वैशाख १३ ।

कविताले के गर्दछ भन्नेबारे आचार्य मम्मटलाई उद्धृत गर्दै विश्वविद्यालयका गुरुले भन्नुहुन्थ्यो ‘सद्य परनिवृत्ति’ । यस दृष्टिले यहाँ पुण्यले पुण्य कमाएका छन् कविता लेखेर ।

पुण्यप्रसाद शर्माद्वारा रचित ‘कविताको देश’ कविता सङ्ग्रह कृति मेरो हातमा परेको धेरै मास भइसकेको छ । सर्सर्ती पढिसकेको धेरै भएको हो । फेरि लामो समयपछि यसभित्रका कवितामाथि चिन्तन गरेँ ्र कविता सरसर्ती पढ्नु र पढेर ग्रहण गर्नुमा निकै भिन्नता छ । पढेर ग्रहण गर्ने प्रक्रियाद्वारा मैले यसलाई अध्ययन गरेकी छु । पुस्तकभित्र लामा छोटा, विभिन्न आकारका र विभिन्न स्वादका जम्मा ५३वटा कविता सङ्कलित छन् ।

कविताको महत्वपूर्ण पक्ष लय हो । लयले कवितालाई श्रुति मधुर बनाउँछ, उहाँका कविता सुन्दर लयमा उनिएका छन् । साहित्यका प्रत्येक विधामा सौन्दर्य र मिठास छँदैछ । युगौँदेखि अनेक रूप फेर्दै कविता हामीसँगै यात्रारत छ । अनेक अर्थपूर्ण परिभाषाहरूमा परिभाषित हुँदै वर्तमानसम्म आइपुग्दा कविताले आफ्नो पछाडि असङ्ख्य कविताप्रेमी पाठक भेला पार्न सफल भएको छ ।

उहाँका कविताहरूमा प्रयोग भएका विभिन्न प्रकारका बिम्ब, प्रतीक र प्रतीकात्मक चोटिलो प्रहार भरिएको पाएँ ।
कवितामा प्रयोग गरिएका बिम्ब र प्रतीकमा पनि एक छुट्टै शिल्पशैली भेटिन्छन् । सरल भाषामा बिम्ब र प्रतीकहरूको प्रयोग गरी लेखिनु यस सङ्ग्रहमा पाइने कविताका विशेषताहरू हुन् ।

कविताहरू भावनात्मक मात्रै छैनन् । जीवन र जगतको वास्तविक छवि अङ्कनमा जति सक्षम छन् त्यति नै प्रयोगका दृष्टिले पनि सशक्त छन् :

आजकल किन हो मलाई जूनको टहकमा
एक्लै चौतारीमा बसिरहन मन लाग्दैन
आफैबाट भाग्न एक्लै एक्लै
हराइरहन मन लाग्दैन ।
आजकल उदास उदास हुन
रोमाण्टिक हुन मन लाग्दैन ।

आजकल त मनको पुरानो पुरानो
चिट्ठाहरू च्यात्न मन लाग्छ
एउटा भरपर्दो सङ्घर्षमा
जीवनलाई भुग्तान गर्न मन लाग्छ ।

प्रीतिको आयाम खोज्न मन पर्दैन
रेश्मी ओठका गीतहरू सुन्नभन्दा
युद्धको दुन्दुभी सुन्न मन लाग्छ
घाऊहरू कोट्याइरहन मन पर्दैन
कुनै एउटा आवेशमय भीड़मा
आफैलाई च्यातिदिन मन लाग्छ ।
आजकल मलाई के भएको छ ? पृष्ठ ११०

मैले फूल–बगानहरूमा होइन
होइन कल्पनाको आलोकमय आकाशमा
नदी र समुन्द्र किनारमा पनि होइन
पुस्तकहरूबीच, अक्षर र कागजहरूबीच
लेटर टाइप र विभिन्न रङ्का मसीहरूबीच
बिताइदिएँ-जसलाई धेरै मदमस्त जवानी भन्छन् ।

याद छैन कि कहिले शुरु हुन्छ वा हुनुपर्छ
कहिले फक्रिन्छ र उत्ताउलिन्छ
कतिबेला झर्नथाल्छन् यौवन-फूलका पत्रदलहरू
मैले थाहा पाएकै त छैन
कसरी फुस्किएर जान्छ
जसलाई धेरैले जवानी भन्दछन् ।

यो सुदूरपूर्व आसामको आकाश छ म माथि
इन्द्रकीलको सुन्दर थलो छ मेरो
कर्मवीरहरूले बनाइदिएको उत्रने स्टपिज छ
रानी(राजा र प्रजाले नङ-मासु भएर
रत्तेली र बालन खेलेको आँगन त छँदै छ ।
आकाशमा कलिलो र छिप्पेको जून पनि छ
शीत छ छपक्कै देखिने, इन्द्रको बगैँचामा
मभित्र एउटा जिजीविषा अकस्मात
आइपुग्छ पाहुना भएर-
पुस्तकहरू शिरमाथि राखेर मात्र त भएन
कहिले राखौं शिरमा यो छात्तीमा गुम्सिएकोचीज
जसलाई धेरैले यौवन भन्छन्, जवानी भन्छन् ।
– पुस्तक, जवानी र म, पृष्ठ ४४

प्रकृति छ, उसको सौन्दर्य छ तर उसमाथि मानवजन्य उत्पात पनि छ ।
पुण्यप्रसाद शर्मा सिक्किमका एकजना प्रतिष्ठित लेखक, अनुवादक, साहित्यकार, प्रकाशक, भाषासेवक बहुआयामिक व्यक्तित्वका धनी हुन् ।

नेपाली साहित्य जगतका एक अनन्य साहित्यिक मित्र हुन् । विशेष गरेर उनी आफ्नो जनपक्ष प्रकाशनबाहेक अन्य कतिपय प्रकाशन संस्थाहरूसित पनि आबद्ध रहेर काम गरिरहेका उदाहरण धेरै छन् ।

पुण्यप्रसाद शर्माका कविताहरू चिन्तन मननले खारिएका परिपक्व छन् । कविताका रूप, विचार – संस्कृति, अभिव्यक्ति आदि परिवर्तन हुँदै जान्छन् । कविताको यो परिवर्तनशीलता कुनै न कुनै रूपमा हाम्रो समाज अनि जीवनशैलीगत परिवर्तनसँग सम्बन्धित पनि छन् ।

अरूका रचनालाई प्रकाशमा ल्याइदिने पुण्यज्यू आफैँमा यस्ता संवेदनशील कवि राखेर बसेका रहेछन् । कविताद्वारा प्रेम, सद्भावनाका साथै आक्रोश पनि साझा गरेका छन् । विशेष युवा पिँढीका लागि बोधगम्य रचना दिन सकेका हुनाले उनका रचना दीर्घजीवी हुने आशा गरिन्छ । ०००

यसमा तपाइको मत

अन्य समाचार