विश्व रंगमञ्च दिवस मनाउँदै बुद्ध थिएटर फेस्टिवल सुरु

काठमाडौं,
चैत १३ ।

रंगमञ्चबाट बुद्धका सन्देशहरु फैल्याउने उद्देश्यसहित सोमबारबाट काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सुरु भएको छ । ६२ औं विश्व रंगमञ्च दिवसको अबसर पारेर यो महोत्सब सुरु भएको हो । पर्यटन उधोग तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरको संयुक्त आयोजनामा सुरु भएको यो महोत्सब आगामी १७ चैतसम्म जारी रहने छ ।

काठमाडौंको बौद्ध स्थित सेचिन गुम्बाका १० जना लामाहरूबाट मन्त्रोचारण गर्दै सुरु भएको यो महोत्सबमा सात वटा नाटक मञ्चन हुँदैछन् ।

महोत्सबको उद्घाटन समारहमा नाटक ‘चण्डालिका’ मञ्चन गरियो । माया थापाको निर्देशनमा मञ्चित करिब आधा घन्टाको यो नाटक एक युवतीले भिक्षुहरूलाई पानी खुवाउँदै उसको आफन्तले दिएको श्रापको कथामा केन्द्रित थियो । तर पछि भिक्षुको आशिर्वादले उनीहरूको जीवनमा शान्ति आएको सन्देश यो नाटकले दिएको थियो ।

संस्कृति भाषामा सम्बाद बोलिएको नाटक चण्डालिकामा सांस्कृतिक संस्थानकै कलाकारहरुले अभिनय गरेका थिए । नाटकमा बुद्धको भूमिकामा तिर्थराज पोखरेल, चण्डालिकाको भूमिकामा रेखा कटवाल, मुख्य युवतीको भूमिकामा शुशिला थापा थिए । यस्तै अन्य कलाकारमा सरेश थापा, श्रीकृष्ण शाही, नरहरि पराजुली, राम पुरी, सुरभि मगर, अनिशाा न्यौपाने, विना विश्वकर्मा, सलिना क्षत्रीलगायतको अभिनय थियो ।

वीरेन्द्र हमालको सल्लाहमा मञ्चन गरिएको यो नाटकको संगीत संयोजनमा दुर्गाप्रसाद खतिवडा, बाद्यबादनमा खतिवडा सहित नरेश प्रजापति, रोहित सुवेदी, गायनमा दीपेन्द्र बज्राचार्य र शिला बिष्ट थिए । यस्तै ध्वनी सँयोजनमा अनुपम शर्मा र मनोज केसी, प्रकाश परिचालनमा मिलन नेपाली र विज्ञान सुब्बा तथा स्टेज निर्माणमा दीपक पौडेल र ओमप्रकाश बानिया थिए । महोत्सबमा १७ चैतसम्म अरु ६ वटा नाटक मञ्चन गरिने भएको छ ।

महोत्सबको उद्घाटन समारोहमा यो वर्षको डवली थिएटर अवार्ड रंगकर्मी अनुप बराललाई प्रदान गरियो । ५० हजार रुपैयाँ सहितको सो अवार्ड ग्रहण गर्दै अनुप पत्नी दिया मास्केले अनुपको सन्देश पढेर सुनाईन् ।

नेपाली रंगमञ्चमा लामो योगदान दिएकाले रंगकर्मी अनुपलाई सो अवार्ड प्रदान गरिएको डवली थिएटरका अध्यक्ष पुष्कर गुरुङले कार्यक्रममा बताए । केही महिना अघि काठमाडौंमा दुई साता लामा बुद्ध नाटक लेखन कार्यशाला गरेर सो कार्यशालामा लेखिएका नाटकहरु यो महोत्सबमा मञ्चन गरिएको बताए । तेश्रो वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सबले बुद्धलाई अझ नजिकबाट अहिलेका पुस्तामा चिनाउने काम गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्कृतिक संस्थानका अध्यक्ष अशोक कुमार राईले विश्व रंगमञ्चको सबैलाई शुभकामना दिँदै बुद्धले देखाएको मार्ग अँगाले जीवन निकै सुखी हुने बताए । महोत्सबमा मञ्चन हुने नाटकहरुबारे उनले कार्यक्रममा जानकारी गराए । यस्तै प्रा.डा. अभि सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईलगायतले महोत्सबमा प्रस्तुत नाटकहरुको चर्चा गरे ।

यसमा तपाइको मत

अन्य समाचार